बारा । बारा प्रहरीले आज आफ्नो एक महिने प्रगती विवरण सार्वजनिक गरेको छ ।
गएको माघ १८ गतेदेखि फागुन २० गतेसम्म भएको कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गरेको हो ।
प्रहरीले एक महिनाको अवधिमा ५२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको फरार प्रतिवादीहरुबाट १३ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ ।
बुधबार एक महिने प्रगती विवरण सार्वजनिक गर्दै बारा प्रहरीले भन्सार राजश्व संकलनमा पनि उल्लेखनीय प्रगती भएको जानकारी दिएको छ ।
भन्सार राजश्व संकलनतर्फ ३ करोड ५८ लाख ४० हजारभन्दा बढी रुपैयाँ राजश्व संकलन भएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी यही अवधिमा विभिन्न शीर्षकका ४३ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार कर्तव्य ज्यान मुद्दा एक, सवारी ज्यान मुद्दा ७, लागु औषध मुद्दा १७, साइबर अपराधका एक मुद्दा र अभद्र व्यवहारका १७ मुद्दा दर्ता गरिएको छ ।
यी मुद्दा अन्तर्गत तीनजना भारतीय पुरुषसहित ८४ जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता पण्डित बताउँछन् । प्रहरीले यो एक महिनामा एक लाख एक्कासी हजार गाँजाको बोटसमेत नष्ट गरेको जनाएको छ ।
साथै लागु औषध गाँजा विभिन्न ठाउँबाट ठूलो परिमाणमा पक्राउ गरिएको उल्लेख गरेको छ । एक महिनामा बारा प्रहरीले ३२० किलो गाँजा बरामद गरेको छ भने यही अवधिमा अफिम २९ किलो र ब्राउन सुगर १७० ग्राम बरामद गरेको जनाएको छ ।
प्रहरीले यसैगरी एक महिनामा तीन लाख भन्दा बढी स्रोत नखुलेको रकम समेत बरामद गरेको जारी विज्ञप्तिमा लेखिएको छ ।
बारा प्रहरीमा परेको १४० उजुरीमध्ये ८६वटा उजुरीको फर्छोट भइसकेको प्रहरीले जानकारी दिएको छ ।