काठमाण्डौँ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको बताएका छन् ।
भुकम्पले पुर्याएको क्षति विवरण संकलन तथा उद्दारका लागि आफूहरु ‘स्ट्यान्ड बाई’ रहेको बताएका हुन् ।
सञ्चार माध्यमहरुसँग टोलीफोन वार्ता गर्दै उनले शुक्रबार बिहान गएको शक्तिशाली भुकम्पले पारेको क्षतिबारे विवरण आइनसकेको जनाए । उनका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।
प्रमुख जिल्ला अधिकारी थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने समेत बताए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
धक्का मधेसका जिल्लाहरुसहित देशका विभिन्न स्थानमा महसुस छ । यद्यपि, अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन।