जनकपुर । धनुषा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत आज ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत धनुषाबाट कैद फैसला तथा जरिवाना भएपश्चात फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियान चलाइएको छ ।
यही अभियान कार्यान्वयनको सिलसिलामा धनुषा प्रहरीले आज कुटपिट र लुटपाट मुद्दाका ७ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै आएका ७ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले बताए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा कैद नभएकाहरु रहेका छन् । आर्थिक जरिवाना भइ फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
प्रहरीको टोलीले ४९ रुपैयाँदेखि ५ सय रुपैयाँ जरिवाना भएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमध्ये ६जनामाथि कुटपिट र एकजनामाथि लुटपाटको मुद्दा लागेको थियो ।
यही मुद्दामा जरिवाना भएपश्चात फरार भएका सबैजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ७ जनाबाट कुल १३८१ रुपैयाँ राजश्व संकलन भएको बताइन्छ ।