वीरगन्ज । मधेस प्रदेशमा ‘एचपीभी’ खोप अभियान सफल भएको छ । दुइ साता लगातार मधेसमा चलाइएको अभियानमार्फत लक्ष्यअनुरुप ‘एचपीभी’ खोप लगाइएको मधेस स्वास्थ्य निर्देशनालयको विश्लेषण छ ।
निर्देशनालयका अनुसार ९४ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाएका छन् । सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरेको खोप अभियानअन्र्तगत यी सङख्याका किशोरीले खोप लगाएका हुन् ।
पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई जोगाउन सरकारले ४ वटा जिल्लाबाहेक देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको थियो । मधेस स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरका आठ वटै जिल्लामा गरी ९४ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका हुन् ।
निर्देशनालयका अनुसार अभियानमार्फत प्रदेशभरका झण्डै साढे ३ लाख जना किशोरीले खोप लगाएका छन् । अर्थात् अभियानअन्र्तगत तीन लाख ४७ हजार ५९९ जना किशोरीले एचपीभी खोप लगाएका मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले बताए ।
उनका अनुसार यो अवधिमा सबैभन्दा बढी रौतहट र सर्लाहीका किशोरीले खोप लगाए । अर्थात् त्यहाँका १०१ प्रतिशत किशोरीलाई खोप लगाइएको उनको भनाइ छ । यसैगरी पर्सा ९४ प्रतिशत, बारा ९५ प्रतिशत, महोत्तरी ९४ प्रतिशत, धनुषा ८२ प्रतिशत किशोरीले खोप लगाए । यस्तै सिरहा ९३ प्रतिशत तथा सप्तरी ९५ प्रतिशत कभरेज भएको उनको भनाइ छ ।
कुन जिल्लामा कतिले लगाए ?
निर्देशनालयका अनुसार अभियान प्रदेशका आठैवटा जिल्लामा सञ्चालन गरियो । दुइ चरणमा गरी प्रदेशका जिल्लाहरुका खोप लगाउँदा सङख्यात्मक हिसाबले भने सबैभन्दा बढी सर्लाहीका किशोरीले खोप लगाएका निर्देशनालयको तथ्यांक छ ।
सर्लाहीमा ५२ हजार २४१ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लिएको खोप अधिकृत झाले जनाए । भने सप्तरीका ३४ हजार ७२५ जनाले खोप लगाएका छन् । यसैगरी पर्सामा ३६ हजार ५२२, बारा ४३ हजार ३६५, रौतहट ४९ हजार ७४८ जनाले खोप लिएका मधेस स्वास्थ्य निर्देशनालयको आँकडा छ ।
यस्तै महोत्तरी ४२ हजार ५६६, धनुषा ४५ हजार ९६३ तथा सिरहाका ४२ हजार ४६९ जना किशोरीलाई खोप दिइएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयले प्रदेशभरका तीन लाख ६९ हजार १२४ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप अधिकृत झाका अनुसार खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेछ ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।