ट्रेन्डिङ

कार्यान्वयनमा नल्याईएका अधिकारबारे आवाज उठाउन गृहमन्त्रीको आग्रह

धनुषा । मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले संविधानले प्रदान गरेको कतिपय अधिकारहरू कार्यान्वयनमा नआएकाले कार्यान्वयनका लागि आवाज उठाउन आग्रह गरेका छन् ।

राष्ट्रिय समाचार समितिको ६४ औँ वार्षिकोत्सवको अवसरमा समितिको मधेश प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको “सुशासन, विकास र समृद्धिका लागि राससको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मधेश प्रदेश प्राकृतिक रुपमा सुगम भएपनि शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रमा पहाडको दुर्गम भन्दा पछाडि पर्नु चिन्ताको विषय भएको बताउँदै उनले संविधानको संशोधन गर्दा तीन तहका सरकारको संरचनामा भएको त्रुटिको संशोधन आवश्यक भएको औल्याए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले सुशासनको अभावमा विकास तथा समृद्धिको यात्रा पुरा गर्न कठिन हुने बताउँदै सुशासन स्थापनाका लागि पत्रकारिता क्षेत्रले निरन्तर रुपमा कलम चलाउन आवश्यक भएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले खोज तथा मर्यादित पत्रकारिताको नाउँ नै रासस भएको बताउँदै सामाजिक सञ्जालका कारणले वास्तविक धारका पत्रकारितालाई बदनाम गर्ने काम गरेको जनाए ।

राष्ट्रिय समाचार समिति मधेश प्रदेशका कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आम सञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्याम सुन्दर यादव, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साह र रेडियो नेपालका वरिष्ठ सम्वाददाता अजय कुमार झाले राष्ट्रिय समाचार समितिको महत्व तथा मूल धारको पत्रकारिताको विषयमा बोल्दै पत्रकारिता क्षेत्रले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि खबरदारी गर्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै