ट्रेन्डिङ

१० रुपैयाँदेखि लिएर डेढ सयसम्म जरिवाना नतिरेका १३ जना फरार प्रतिवादी रौतहटबाट पक्राउ

रौतहट । रौतहट प्रहरीले कैद सजाय नभएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत सबैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतबाट कम्तीमा १० रुपैयाँदेखि डेढ सयसम्म जरिवानाको फैसला भएका भएका फरार १३ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

अदालतबाट विभिन्न मुद्दामा जरिवाना भइ फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए । प्रहरीका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरु कम्तीमा १० देखि लिएर डेढ सय जरिवान रकम नबुुझाउनेहरु मात्रै रहेका छन् ।

प्रहरीको टोलीले लालउती महतो, शान्ति देबी, जगरनाथ मुखिया, सन्तलाल मुखिया, अनिल मिश्र, शकुन्ती देबी, रामचन्द्र प्रसाद हजरा, हिमाकुमारी यादव, गर्भलाल प्रघा, सिया देबी यादव, रुनाकुमारी महतो, मन्जुदेबी सहनी र दिला देबीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु गाली बेइज्जती, अदालतको अवहेलना, लेनदेन, जालसाजी, नाता कायम किर्ते, सम्बन्ध विच्छेद र कुटपिट मुद्दाका प्रतिवादीहरु रहेका रौतहट प्रहरीले जनायो ।

पक्राउ परेकाहरुमाथि अदालतबाट १०, २०, २५, ५०, ७५ रुपैयाँदेखि लिएर बढीमा डेढ सय रुपैयाँ जरिवाना तिराउने फैसला भएको प्रहरीको विज्ञप्तिमा लेखिएको छ ।

अदालतबाट फैसला भएका उक्त रकमहरु नतिरेका कारणले सबैजनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै