वीरगन्ज । पर्सामा तीनवटा महिनामा बढी तस्करी हुने गरेको सशस्त्र प्रहरी बल पर्साको तथ्यांकले देखाइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले सार्वजनिक गरेको आफ्नो ९ महिने कार्य प्रगती विवरणमा तीनवटा महिनामा बढी तस्करी हुने गरेको देखिएको छ ।
सशस्त्र प्रहरी बल पर्साले सार्वजनिक गरेको दुुइ आर्थिक वर्षको तथ्यांकमा ती तीनवटा महिनामा बढी तस्करीका सामान बरामद भएको उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बल पर्साको ९ महिने कार्य प्रगती विवरणमा खासगरी असार, साउन र भदौंमा बढी भन्सार छलीका सामान बरामद भएको लेखिएको छ । अर्थात् यही तीन महिनामा पर्साका विभिन्न नाकाबाट बढी तस्करी हुने गरेको सशस्त्र प्रहरीको तथ्यांकले पुष्टि गरिरहेको छ ।
तथ्यांकले मात्रै नभइ सशस्त्र प्रहरी पर्साको कार्यालयले पनि यो तीनवटा महिनामा बढी तस्करी हुने गरेको विश्लेषण गरेको छ ।सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालका अनुसार यो तीनवटा महिनामा बढी तस्करी हुने गरेको आफ्नो विश्लेषण रहेको सुनाए ।
खासगरी यी तीनवटै महिनाको अन्तरालमा चाँडपर्व सुरु हुने भएकाले यो महिनामा तस्करी बढी हुने गरेको पाइएको उनको आंकलन छ । उनले भने, ‘यही तीनवटा महिना लगत्तै सबै धर्मावलम्बीको चाँडपर्व सुरु हुन्छ, जुनकारणले हरेक सामानको माग बढी हुन्छ । सामानको माग बढी भएपछि त्यसलाई पूरा गर्न तस्करहरुले बढी मात्रामा सामान ल्याउन गर्छन, अनि त्यही हिसाबले सामान पक्राउ पनि पर्छ । जसकारण बढी राजश्व संकलन हुने गरेको छ ।’
यो तीन महिनामा मात्रै सशस्त्र प्रहरी पर्साले ९ महिनामा कुल बरामद गरेको भन्सार छलीका सामानको हाराहारीमा राजश्व संकलन भएको तथ्यांक छ ।
उक्त तथ्यांक अनुसार यो तीन महिनामा मात्रै सशस्त्र प्रहरी बल पर्साले १५ करोड ८४ लाख ७६ हजार ९९० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
पर्साको विभिन्न नाकाबाट खासगरी लत्ताकपडा, खाद्यान्न, मोटरपार्टस, इलेक्ट्रोनिक्स सामान तथा किराना सामानहरु बढी तस्करी हुने गरेको सशस्त्र प्रहरीको तथ्यांक छ ।
अघिल्लो वर्ष भन्दा डबल बढी मूल्य बराबरको सामान बरामद
सशस्त्र प्रहरी बल पर्साले सार्वजनिक गरेको ९ महिने कार्य प्रगती विवरणमा अघिल्लो वर्षको तुलनामा राजश्व संकलन बढी गरेको उल्लेख गरेको छ ।अघिल्लो आर्थिक वर्ष ०८० को ९ महिनामा सशस्त्र प्रहरी बल पर्साले कुल १७ करोड ९ लाख ६९ हजार १९६ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको थियो ।
यद्यपी, चालु आर्थिक वर्षको ९ महिनामा यो रकम भन्दा डबल बढी रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा सशस्त्र प्रहरी बल पर्साले विभिन्न नाकाबाट ३५ करोड ५९ लाख २१ हजार ९१० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ ।
जेठदेखि माघसम्मको अवधिमा विभिन्न नाकाबाट चोरी पैठारी गरी नेपाल ल्याउन खोजिएका भन्सार छलीका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता नरेन्द्र धामीले बताए ।
उनका अनुसार यी अवधिमा सशस्त्र प्रहरी जाँचमा कडाइ गर्दा धेरै परिमाणमा भन्सार छलीका सामानहरु बरामद भएका हुन ।
यही महिनामा बरामद भन्सार छलीका विभिन्न सामानमध्ये २३ करोड ४१ लख २७ हजार ३५८ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुुझाइएको सशस्त्र प्रहरीको तथ्यांक छ ।
यसैगरी १२ करोड १७ लाख ९४ हजार ५५२ रुपैयाँको राजश्व छलीका सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
कुन महिनामा कति भन्सार छलीका सामान बरामद ?
सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको हरेक महिनामा करोड रुपैयाँ बराबरको भन्सार छलीका सामानहरु बरामद गरेको तथ्यांकले देखाइरहेको छ ।
९ महिने प्रगती विवरणमा सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको जेठ महिनामै ४ करोड ४२ लाख ६५ हजार ४८७, असारमा ६ करोड ८२ लाख १ हजार ४४०, साउनमा ५ करोड ४२ लाख ८१ हजार २०३, भदौंमा ३ करोड ५९ लाख ९४ हजार ३४७, असोजमा १ करोड ९८ लाख ९३ हजार ३९४, कार्तिकमा ३ करोड ४४ लाख ७३ हजार ६७८, मंसिरमा ३ करोड ३० लाख २४ हजार ७४७ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको उल्लेख गरेको छ ।
यसैगरी ३ करोड ५१ लख ५९ हजार १५३ र माघ महिनामा ३ करोड ६ लाख २८ हजार ४६२ रुपैयाँ मूल्य बराबरको भन्सार छलीका विभिन्न खाले सामान बरामद भएको सशस्त्र प्रहरी प्रवक्ता धामी बताउँछन् ।
सशस्त्र प्रहरी प्रमुख धिमालका अनुसार सशस्त्र प्रहरीले जाँचमा कडाइँ तथा विभिन्न गोदाममा छापामारी गरेका कारणले भन्सार छलीका सामानहरु बढी बरामद भएका हुन ।
उनका अनुसार सूचना संकलन गरेर छापामारी नगरेको भए यो मूल्य बराबरको भन्सार छलीका सामानहरु बरामद हुँदैन्थे ।