ट्रेन्डिङ

बाराको कलैयामा आजदेखि निःशुल्क कपडा बैँक सञ्चालनमा, परिचय टिपाएर कपडा लैजान पाइने

उद्दघाटनकै दिन ३५ जनाबढीले लिए लाभ

बारा । बाराको कलैयामा निःशुल्क कपडा बैँकको उद्दघाटन गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले शुक्रबार बैँकको औपचारिक रुपले उद्दघाटन गरेका हुन् । ग्रामीण उत्थान अभियान कलैयाले लत्ताकपडा खरीद गर्न नसक्ने गरीब तथा विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क कपडा बैंक सञ्चालनमा ल्याइएको हो ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई आफूलाई चाहिएको कपडा छानीछानी लैजानसक्ने योजनासहित बैंक सञ्चालनमा ल्याएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जनाए ।

बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने कलैयाका नगरप्रमुख बिनोद साहले विश्वास जनाए । निशुल्क कपडा बैंकबाट विशेषगरी असहाय, गरिब, बिपन्न, एकल, दलित, पिछडिएको र मजदूर वर्गका व्यक्तिहरुलाई फाइदा हुनेछ ।

संस्थाको यस कदमप्रति सम्मान जनाउँदै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निःशुल्क कपडा बैँकबाट लाभ उठाउन आग्रह गरे । उनले संस्थालाई साथ दिन जिल्लाबासीसँग अनुरोध समेत गरेका छन् । यसलाई निरन्तर गर्न एउटा कार्यबिधी बनाएर अगाडि बढ्न उनको सुझाव छ ।

सामाजिक सेवामा हरदम क्रियाशील रहने बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूरको आग्रहमा ग्रामीण उत्थान अभियानले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको संस्थाकी अध्यक्ष माधुरी गिरीले जनाईन ।

उद्दघाटन भएको एक घन्टामै बैँकबाट ३५ जनाभन्दा बढीले निःशुल्क कपडा लगेका छन् । गणपत साह, सायरा खातुन, लालमति देबि, भगवन्ती देबि पन्डित, रिता देबि राम, बिन्दु देबि मल्ली, राजम्ती कुश्वाहा, सुकट मिया अन्सारी, मोतिलाल कुश्वाहा, राजाबाबु जयस्वाल, बिराज राम, राधे गुप्ता गरि ३५ जनाभन्दा बढीले छानीछानी कपडा लगेको गिरीले बताइन् ।

निशुल्क कपडा बैंक’मा सारी, ब्लाउज, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा सङ्ग्रह गरेर राखिएका छन् । पुरुषका निम्ति पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट, गन्जी, कट्टु लगायतका तयारी कपडा राखिएको संस्थाका संस्थापक अन्सारीले जानकारी गराएका छन् ।

निःशुुल्क पाइने कपडा लिन गरिब परिवारका महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै आउने गरेका छन् । ‘हुनेहरु दिएर जानुहोस नहिनेहरु लिएर जानुहोस्’ भन्दै यस अभियानमा सबै सहयोग गर्नुपर्ने समाजसेवी जङ्गबहादुर यादवको भनाइ छ ।

‘किनेर लुगा लगाउने जसको आर्थिक अवस्था छैन, उहाँहरुको कल्याण गर्नका लागि अभियानकै रुपमा यस्तो बैंक खोलेका हौं’, संस्थापक अन्सारीले भने ।

अस्पताल रोड भरत चौक कलैयामा रहेको डा. कमरुलहक मेमोरियल अस्पतालको अगाडी अस्पतालले नै उपलब्ध गराएको एउटा कोठामा ‘निशुल्क कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । त्यहाँ गएर गरीब व्यक्तिले छानीछानी लत्ताकपडा लैजान पाउने सुविधा छ । कपडा लैजाने व्यक्तिले आफ्नो परिचय भने टिपाउनुपर्ने संस्थापक अन्सारीले जनाए ।

अभियानमा टेवा धापाखेल ललितपुर,समृद्ध अभियान,डा. कमरुलहक मेमोरियल अस्पतालले साथ दिएको छ । मिडिया पार्टनरका रुपमा स्थानीय बिश्वास एफएमले साथ दिइरहेको छ । एक व्यक्तिले एक जोर कपडा लैजान पाउने नियम बनाइएको संस्थापक अन्सारीले जानकारी दिए ।

कार्यक्रममा डा.कमरुलहक मेमोरियल अस्पताल कलैयाका सन्चालक डा. नौषादहक, काङ्ग्रेस नेता लोकेश सिंह, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अमरदिन मन्सूर, नेवि संघ बाराका अध्यक्ष प्रबिण पटेल, लायन्स क्लब अफ कलैयाका अधिवक्ता सुर्यजित सिंह, बारा उद्योग बाणिज्य संघका सदस्य मुकेश गुप्ता, नेपाल पत्रकार महा संघ मधेस प्रदेश सदस्य बृजमोहन कुशवाहा, समृद्ध अभियानका अध्यक्ष लिला चौधरी, निरज चौधरी, कलाम अन्सारी, नेहा कुश्वाहा, प्रियंका कुशवाहा, सरिता चौधरी, पुजा कुश्वाहा, मनिशा गुप्ता, कलैया ज्ञान बाटिका बोर्डिङ स्कुलका प्रधानाध्यापक बिरेन्द्र चौधरी, उषा राम, नितु यादव, अनिता यादव लगायतकाको उपस्थिति रहेको थियो ।

बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महा संघ मधेश प्रदेश सदस्य साजिर मन्सूरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै