काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीमाथि भइरहेको दुव्र्यहारविरुद्ध ‘एक्सन’ लिन निर्देशन दिएका छन् ।
पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि कारबाही गर्न निर्देशन गृहमन्त्रीले निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका हुन् ।
आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । उनले
मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
आइतबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सोही घटनामा जोडिएका ५ जनाविरुद्ध जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
त्यस्तै, मंगलबार राति धनगढीको ट्राफिक चौराहमा पनि ड्युटी रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको थियो ।
राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
प्रहरी स्रोतका अनुसार ड्युउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा छन् ।