काठमाण्डौँ । चालु आर्थिक वर्षमा देशका सातै प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । चालू वर्षको पुस मसान्तसम्ममा यी प्रदेशहरुले जम्मा १६ दशमलव १८ प्रतिशतमात्रै बजेट खर्च गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशको बजेट दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाख रुपैयाँ थियो । जसमध्ये यो अवधिमा प्रदेशहरूले ४५ अर्ब ९ करोड ३८ लाख रुपैयाँमात्रै खर्च गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सबैभन्दा बढी बजेट खर्च गर्नेमा कोशी प्रदेश रहेको छ । भने सबैभन्दा कम खर्च मधेस प्रदेशले गरेको छ । अर्थात् यो समयसम्म कोशीले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गर्दा मधेसले जम्मा ५ दशमलव ६१ प्रतिशत मात्र बजेट खर्चिएको छ ।
कोशीले चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा ८ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
यस्तै मधेशले ४३ अर्ब ८९ करोड २२ लाख रुपैयाँको बजेट ल्याएकोमा दुई अर्ब ४६ करोड दुई लाखमात्रै खर्च गरेको छ ।
सबैभन्दा बढी बजेट ल्याएको बाग्मती प्रदेशको बजेट खर्च पनि निराशाजनक देखिएको छ । बाग्मतीले चालू आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएकोमा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ बराबरमात्रै खर्च गरेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशले १९–१९ प्रतिशत बजेट खर्च गर्दा कर्णालीले १५ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिमले पनि १४ दशमलव ८२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ ।