काठमाण्डौँ । राष्ट्रियसभाका सांसदहरूले सर्लाहीका अन्तरजातीय विवाह गरेका जोडीलाई न्याय दिन माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन सरकारसमक्ष आग्रह गरेका हुन् । यस्तै उनीहरुले खानेपानी मन्त्रालयमा भएको आगलागीबारे छानबिन गर्नसमेत माग गरे ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण गर्न र पीडितलाई न्याय दिन र दोषी उपचार कानुनी कारबाही गर्न माग गरे ।
सांसद डा बेदुराम भुसालले एकअर्कालाई मनपराएर प्रेम विवाह गर्नु मानिसको नैसर्गिक अधिकार भएको बताउँदै उनीहरूको अधिकार हनन गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले पीडितलाई न्याय दिन र दोषी उपर कानुनी कारबाही गर्न माग गरे ।
सांसद गोपीबहादुर सार्की अछामीले प्रेम विवाह गरेका सत्येन्द्र र नेहाको जोडी अझै पनि असुरक्षित रहेको भन्दै उक्त घटनाबारे गृह प्रशासनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।
सांसद मायाप्रसाद शर्माले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा केही दिनअघि भएको आगलागी घटनाको तत्काल छानबिन गर्न सरकार समक्ष माग गरे ।
सांसद गङ्गाकुमारी बेलबासेले माइतीघर मण्डलामा धर्नामा रहेका स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न र गुठीको स्वामित्वमा रहेको जग्गामा घरबाससहित बसोबास गर्दै आएका किसानलाई मोही हक पाउने पाउनुपर्ने माग गरिन् ।
सांसद मृगेन्द्रकुमार सिंह यादवले मिटरब्याज पीडितसम्बन्धी कानुन बनिसके पनि पीडितले अझै न्याप पाउन नसकेको भन्दै उनीहरूलाई न्याय दिन सरकारसमक्ष माग गरे ।
सांसद शारदादेवी भट्टले इजरायलमा हमासको आक्रमणमा परी अज्ञात रहेका बिपीन जोशीको रिहाइमा विलम्भ भएको र युद्धविरामपछि धुप्रै बन्दीको रिहाइ भइरहँदा पनि बिपीनको अवस्था अझै अज्ञात हुनु पीडादायक अवस्था रहेको भन्दै चाडो रिहाइका लागि पहल गरिदिन ध्यानाकर्षण गराइन् ।