वीरगन्ज । मधेस प्रदेशका २८ प्रतिशत किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाएका छन् ।
अभियान सुरु भएको पाँच दिनसम्ममा प्रदेशका आठ जिल्लाभरका लक्षित किशोरीमध्ये २८ प्रतिशतले एचपीभी खोप लगाएका हुन् । माघ २२ गते मंगलबारदेखि २६ गते शनिबार अर्थात् हिजोसम्म प्रदेशभरका एक लाख ४ हजार २०० जना किशोरीले यो खोप लगाइसकेका मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाका अनुसार यो अवधिमा सबैभन्दा बढी सप्तरी तथा सबैभन्दा कम महोत्तरीका किशोरीहरुले एचपीभी खोप लगाएका छन् । अर्थात् सप्तरीका ३५ प्रतिशत किशोरीहरुले खोप लगाएका छन् भने सबैभन्दा कम कभरेज महोत्तरीमा १९ प्रतिशत रहेको उनले बताए ।
यसैगरी सिरहा, ३१ प्रतिशत, धनुषा २६ प्रतिशत, सर्लाही २८ प्रतिशत, रौतहट २९ प्रतिशतले खोप लगाएका छन् । यस्तै बारा र पर्सामा भने क्रमश ३०/३० प्रतिशतले यो खोप लिएका निर्देशनालयको तथ्यांक छ ।
कुन जिल्लाबाट कति ?
खोप अधिकृत झाका अनुसार प्रदेशका सबै जिल्लामा अभियान सञ्चालनमा छ । सङख्यात्मक हिसाबले प्रदेश राजधानी रहेको धनुषामा सबैभन्दा बढी किशोरीले खोप लिएका छन् ।
धनुषामा १४ हजार ८७५ जना किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको यो खोप लिएको उनको भनाइ छ । भने महोत्तरीका जम्मा ८ हजार ५५६ जनाले खोप लिएका छन् । यसैगरी पर्सामा ११ हजार ७०१, बारा १३ हजार ५३३, रौतहट १४ हजार ३५३, सर्लाही १४ हजार २५९ जनाले खोप लिएका मधेस स्वास्थ्य निर्देशनालयको आँकडा छ ।
यस्तै सिरहा १४ हजार २५९ र सप्तरी १२ हजार ६६४ जना गरी जम्मा एक लाख ४ हजार २०० जना किशोरीलाई खोप लगाइएको जनाइएको छ ।
मधेस स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण कुमार नायकले खोप अभियान निरन्तर चलिरहेको बताए । उनले लक्ष्य पूरा गर्ने बमोजिम नै अभियान चलाएको भन्दै ढुक्क भएर खोप लगाउन अनुरोध गरे ।
उनी भन्छन्, ‘कतिपय किशोरीहरु सरस्वती पूजा सकेर आराममा थिए । त्यहि कारण पनि धेरैले हिजोसम्म खोप लगाउन नआएको हो कि जस्तो लाग्छ । बल्ल आजदेखि उनीहरु आउने क्रममा छन् । हामी लक्ष्य पूरा गर्ने भिजनसहित अघि बढेका छौँ । खोपबाट कुनै प्रकारका डर मान्नु पर्ने छैन, अहिलेसम्म लगाएकाहरुबाट कुनै कम्प्लेन पनि छैन, त्यहि कारण ढुक्क भएर लगाउँदा हुन्छ । यो अपरच्युनिटी नगुमाउनु ।’
आजदेखि भने खोप लगाउन आउने किशोरीहरुको सङख्या उल्लेख्य बढ्ने उनको अनुमान छ ।