६ असोज, बीरगन्ज । बारामा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको कोल्हवी नगरपालिकामा जंगली हात्ती मृत अवस्थामाफेला परेको हो ।
नगरपालिकाको वडा नम्बर २ झुरझुरे टोलमा आज बिहान एउटा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
डिभिजनल वन कार्यालय बाराका अधिकृत बिनोद सिंहका अनुसार अन्दाजी २० वर्षको हात्ती मृत फेला परेको हो ।
हात्तीको मृतुको कारण यकिन हुन नसके पनि करेन्ट लागेर भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको खबर पाएलगत्तै पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले हात्ती मृत भेटिएको स्थानमा घेरा हालेर सुरक्षा दिइरहेका उनी बताउँछन् ।
मृत हात्तीको पोष्टमार्टम गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोली घटनास्थलतर्फ आउँदै गरेको बताउँदै उनले टोलीको उपस्थितीमा हात्तीलाई खाल्डो खनेर पुर्ने जनाए ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय बाराले जानकारी दिएको छ ।