
धनुषा । मधेस प्रदेशका छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । पर्सा, बारा र धनुषामा भएका छुट्टाछुट्टा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
वीरगन्ज-२२ जगरनाथपुरस्थित सडकमा बुधबार दिउँसो एनएल ०१ डी ७८८८ नम्बरको ट्रकमा ना.७ त २७२४ नम्बरको ट्याक्टर ठोक्किएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार सोही वीरगन्ज-२८ बगही टोल बस्ने १८ वर्षीय राजाबाबु महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुलस्थित सडकमा ना.३ त ८४१९ नम्बरको ट्याक्टरले ना.६५ प ५५०५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१६ मझौलिया बस्ने ३१ वर्षीय विजय कुमार महतो छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै धनुषाको मिथिला बिहारी नगरपालिका-८ कचुरीमा बा ३१ प ८३०२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी दुर्घटनामा पर्यो । दुर्घटनामा चालक सोही नगरपालिका-५ उत्तमपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलसँग ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार साइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।