
पर्सा । राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा राजस्व चुहावटसम्बन्धी घटना बढेका छन् । गत वर्षको तुलनामा यसवर्षको ६ महिनाको अवधिमा राजश्व चुहावट सम्बन्धी घटनामा वृद्घि भएको कार्यालयले जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुष मसान्तसम्म ६८ करोड ७३ लाख मागदाबीसहित आठवटा राजस्व चुहावट सम्बन्धित मुद्दा अदालतमा दर्ता गरेको जनाएको छ ।
यद्यपी गत वर्षको सोही अवधिमा ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको कार्यालयले जनायो ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार यो अवधिमा राजश्व चुहावट धरौटी रकम दुई करोड ९८ लाख रुपैँया सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । साथै गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार बढी सङ्कलन भएको कार्यलयले जानकारी दिएको छ ।