वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरुले आन्दोलन सुरु गरेका छन् । अस्पतालको भवन निर्माणका लागि दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
सो क्रममा उनीहरुले नारायणी अस्पताल परिसर तथा त्रिभुवन राजपथमा शुक्रबार झण्डै २ घण्टा धर्ना दिएका थिए । ५०० शय्याको नयाँ भवन निर्माणका लागि स्वास्थ्यकर्मीहरूले विभिन्न नारा लगाउँदै अस्पताल परिसरमा शान्तिपूर्ण विरोध जनाउँदै धर्नामा बसेका छन् । ‘सरकार खण्डहर होइन भवन देउ’, ‘अन्यायबाट मुक्ति देउ’, ‘जनता र स्वास्थ्यकर्मीमाथि न्याय गर’, ‘न्यायको गाठो फुकाएर राहत देउ’, ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ लगायतको नारा लगाउदैँ सडकमा उत्रिएका छन् ।
स्वास्थ्य संस्था एवम् स्वास्थ्यकर्मीप्रति सरकारलाई जिम्मेवार बनाउन ‘सेतो एप्रोन’ लगाएर पहिलोपटक नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै सरकारको ध्यानाकर्षण गराइएको चिकित्सकहरु बताउँछन् ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । सोही योजनाअन्तर्गत नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपैयाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो । तर, बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरुपणको चरणमा पुगेको छ ।
सोही कारण अस्पतालका चिकित्सकहरुले भवन निर्माण संघर्ष समिति गठन गरी दबाब दिन सुरु गरेका छन् । समितिका संयोजक डा. निरज सिंहका अनुसार नयाँ भवन निर्माण नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले अत्यन्तै कठिनाई भोग्नुपरेको छ । अस्पतालका भवनहरू जीर्ण भइसकेका छन्, जसले गर्दा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरू सधैं डरभित्र बाँच्न बाध्य भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘राज्यले न हामीलाई हेर्यो, न अस्पताललाई । नारायणी अस्पतालको भवन यति जीर्ण छ कि उपचार गरिरहेका बेला कुन समयमा भवन खस्छ त्यसको कुनै ग्यारेन्टी छैन । डरैडरमा उपचार गर्न बाध्य छौँ । देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेका छन् । तर, यहाँ सरकारको नजर नै पुगेन कि पुर्याइएन बुुझ्नै सकिएन ।’
उनले आफूहरुको माग सम्बोधन नभए सशक्त आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनीसमेत दिएका छन् । उनी भन्छन्, ‘माघ २८ गते अस्पतालको भवनसम्बन्धी मुद्दा पेसीमा चढ्ने मिति छ । त्यसबेला सम्म हेछौँ । आज त वीरगन्जलाई उपेक्षा नगर सरकार भनेर ध्यान दिलाउन खोजेका मात्र हौँ । त्यो दिन पनि नारायणी अस्पताललाई नजरअन्दाज गरियो भने हामी थप संघर्षका कार्यक्रमहरु तयार पार्नेछौँ ।’
नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पतालबाट बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख सर्वसाधारणले सेवा लिने गरेका छन् । यद्यपी भौतिक संरचनाको जीर्ण अवस्थाका कारण यहाँ उपचार सेवा लिन आउने बिरामीहरू र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको छ ।