वीरगन्ज । वीरगन्जस्थित आइसीपी (एकीकृत सुरक्षा जाँच चौकी) को ग्रीन च्यानलबाट पास हुने सवारीसाधनमार्फत तस्करी भइरहेको खुलासा भएको छ ।
अर्थ समितिले वीरगन्जमा बुधबार राखेको भन्सार विधेयक संशोधन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले घटना सुनाउँदै यसको खुलासा गरेका हुन । सहभागी सरोकारवालाहरुले खासगरी आइसीपीका कर्मचारीको मिलोमतोमा यहाँबाट अवैध कामहरुसमेत भइरहेको टिप्पणी गरेका छन् ।
एक सहभागीले भने, ‘तेस्रो मुलुकबाट बाहिरीरुपमा देखाउनका लागि एउटा सामान आयात हुन्छ, जसको भन्सार दर कम हुन्छ । तर भित्र अर्को महंगो सामान राखेर त्यसको भन्सार पास हुन्छ । जसमा सबैको मिलोमतो हुन्छ, अनि यहाँबाट व्यक्तिगत फाइदा लिने काम हुन्छ, तर राज्यलाई हुँदैन । त्यसकारण अब कानुन संशोधन हुँदा यसलाई निस्तेज पार्ने गरी कानुन ल्याउनुपर्छ ।’
अर्थात् ‘ग्रीन च्यानल’बाट जाने सामानहरुको पनि सुरक्षा निकायले चेकजाँच गर्न पाउने व्यवस्था लागु गर्न जरुरी रहेको कार्यक्रममा औल्याइएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले राज्यको नीतिका कारण तस्करी मौलाउदै गएको आरोप लगाए । उनले भने, ‘सरकारले उपभोग हुने वस्तुमा धेरै धन्सार लगाइदिन्छ, जुनकारण त्यो वस्तु आधिकारिक बाटो नआएर गलत बाटोबाट आउन थाल्छ । यहीकारण अधिकांश वस्तुको तस्करी हुन थालेको देखिन्छ । ’
उनका अनुसार यी सब कुरालाई मध्यनजर गरेर पहिलो चरणमा राज्यले कम्तीमा एक सयवटा वस्तुमा कर कम गर्नुपर्छ, ताकी यसले गर्दा राजश्व चुहावट हुने कुरा कम्तीमा रोक्निछ ।
‘अहिलेसम्म सरकारले जेजे कुरामा बढी कर लगाएको छ, ती सबै कुरामा सरकारको नीति असफल भएको छ । त्यसकारण अब कम्तीमा कुनकुन वस्तु बढी आयात भइरहेको छ, जनतालाई उपभोग्य हुने बढी वस्तु केके छन् ? त्यसमध्ये छनौट गरेर कम्तीमा सयवटा वस्तुमा लाग्ने भन्सार महसुल घटाऔं, उनी भन्छन्,‘ त्यसपछि यसको नतिजा पनि हेरौं, सफल भयोभने यो नीति अवलम्बन गरौं ।’
सहभागी सरोकारवालाहरुले राजश्व चुहावट सम्बन्धी केही कानुनहरुमा संशोधन गर्नुपर्ने जरुरी रहेको सुुझावसमेत दिएका हुन । भन्सार सम्बन्धी कानुन संशोधन र एकीकरणका लागि बनेको विधेयक बारे स्थलगत छलफलका लागि अन्तरक्रिया कार्यक्रम राखिएको समितिका संयोजक नारायणी शर्माले बताइन् ।
छलफलमा आएका सुुझावहरु केही महत्वपूर्ण र केही व्यक्तिगत फाइदाको लागि रहेको भन्दै उनले भनिन्, करको सन्दर्भमा उठेका आवाजहरुको सम्बोधन हुनेछ, जेमा त्रुटि देखिएको छ त्यसमा संशोधन गरेर हामी अगाडि बढ्ने कोशिश गर्नेछौं ।
उनका अनुसार यो ‘प्लाटफर्म’मा उठेका सबै मुद्दाहरु राज्यलाई बलियो बनाउने खालका छन् । उनले भनिन्, ‘करलाई कसरी मजबुत बनाउने ? कसरी व्यवस्थित बनाउने ? यी सवालमा धेरै राय आएका छन् ती सबैलाई मध्यनजर गरेर हाम्रो समितिले कानुन संशोधन गर्नेछ ।’
निरीक्षणका क्रममा टोलीले भन्सारको सीमामा एक्सरे मेसिन, ल्याब जस्ता महत्वपूर्ण सामानको अभाव रहेको पाइएको जानकारी दिएको छ । जुनकारणले राजश्व चुहावटमा कमी आउन नसकेको टोलीको आंकलन छ ।
अर्थ समितिको टोलीले वीरगन्ज भन्सार कार्यालय, आइसीपीसहितका ठाउँहरुको स्थलगत निरीक्षण गरेको हो । अर्थ समितिको टोलीमा नारायणी शर्मा, जुली महतो, अन्जनी श्रेष्ठ, छिरिङ डिम्डुल लामा, मुक्ता यादव र नारायण प्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरुको सहभागीता थियो । यता भन्सार प्रमुख रामप्रसाद पाठकसहित व्यापारी प्रतिनिधि, एजेन्ट संघ तथा कर्मचारीहरुको उपस्थिति थियो ।