ट्रेन्डिङ

बारामा ४५ हजार ५३५ जना किशोरीहरुलाई ‘एचपीभी’ खोप लगाइने

बारा । बारा जिल्लाका ४५ हजार ५३५ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) दिइने भएको छ ।

सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय बाराले पालिका अन्र्तगतका सामुदायिक र संस्थागत गरेर ४०० वटा विद्यालयका छात्राहरूको संख्या गणना गरेको छ ।

जसअनुसार एक सय ३४ वटा संस्थागत र २६६ वटा संस्थागत विद्यालय छन् । यी विद्यालयहरूमा ३३ हजार ८७२ जना छात्रा अध्ययनरत छन् । यस्तै विद्यालयबाहिर ११ हजार ६६३ जना किशोरीहरू रहेका कार्यालयको विवरणमा उल्लेख छ ।

हिजो बसेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले यो रोगलाई दीर्घकालिन रुपमा रोकथामका लागि अभियान सञ्चालन गर्न लागिएको जनाए ।

स्वास्थ्य कार्यालय बारा प्रमुख रामनरेश यादवका अनुसार प्रति एक लाख महिलामध्ये ४ जनाभन्दा कम संख्यामा क्यान्सर सीमित गराउने लक्ष्यअनुरूप खोप सेवा सञ्चालन गरिएको हो । उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ,’ ।

कुन पालिकामा कति ?

बारा जिल्लाका १६ वटै पालिकाका किशोरीहरुलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय बाराले जनाएको छ । यहाँका सम्पूर्ण पालिकाहरुका विद्यालय जाने तथा विद्यालय बाहिरका गरी जम्मा ४५ हजार ५३५ जना किशोरीहरुलाई खोप लगाइने बताइन्छ ।

जसअनुुसार सबैभन्दा बढी कलैया उपमहानगरका किशोरीलाई एचपीभी खोप लगाइदैछ । त्यहाँ ९ हजार ८५७ जनालाई खोप लगाइने योजना रहेको स्वास्थ्य कार्यालय प्रमुख यादव बताउँछन् । यसैगरी जितपुरसिमरा उपमहानगरपालिकामा ८ हजार ७२६, महागढीमाई नगरपालिका ३ हजार ९४५, सिम्रौनगढ नगरपालिका ३ हजार ३८० जना किशोरीलाई खोप दिइने उनले बताए ।

यस्तै प्रसौनी गाउँपालिका दुइ हजार १९, आदर्श कोतवाल गाउँपालिका एक हजार ४९६, बारागढी गाउँपालिका एक हजार ३४७, बिश्रामपुर गाउँपालिका एक हजार १७३, देवताल गाउँपालिका एक हजार ३० जनालाई एचपीभी खोप लगाइने कार्यालयको विवरणमा छ ।

त्यसैगरी करैयामाई गाउँपालिका १४ सय, कोल्हवी नगरपालिका एक हजार ९४७, पचँरौता पिपरपाती गाउँपालिका एक हजार ७४२, परवानीपुर गाउँपालिका एक हजार ५७०, फेटा गाउँपालिका एक हजार ८२२ र सुवर्ण गाउँपालिका एक हजार ७३६ जना किशोरीहरुलाई खोप लगाइने कार्यालय बताउँछ ।

कति चरणमा लगाइने ?

जिल्लाका १६ वटै पालिकाका किशोरीहरुलाई दुइ चरणमा एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

कार्यालयका अनुसार प्रथम चरणमा माघ २३–२५ सम्म जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगर, परवानीपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाँउपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकामा खोप लगाईनेछ ।

त्यस्तै फाल्गुन ४–६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकाका किशोरीहरुलाइ दोस्रो चरणमा खोप दिईनेछ ।

जिल्लाभर ४२६ वटा केन्द्रहरुबाट खोप लगाइने कार्यालय प्रमुख यादवले बताए । उनका अनुसार हरेक एक खोप केन्द्रमा एक जना खोपकर्ता तथा दुइ जना स्वयम्सेवकहरुमार्फत खोप लगाइनेछ ।

चार सय २६ जना खोपकर्ता तथा ८५२ जना स्वयम्सेवकहरु खोप केन्द्रहरुमा परिचालित गरिने स्वास्थ्य कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै