
वीरगन्ज । पर्सा बहदरमाई नगपालिकाका शिक्षकहरुले सामूहिक रूपले विद्यालयको चाँबी बुझाएका छन् । उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय पर्सामा विद्यालयको चाँबी बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुको मूल गेटको चाँबी हस्तान्तरण गरिएको हो ।
सात महिनादेखि तलब भत्ता लगायतका सुविधाबाट वञ्चित हुदाँ विद्यालयमा पठनपाठन बन्द गर्न बाध्य भएको शिक्षकहरुको गुनासो छ ।
एक शिक्षकले भने, ‘७ महिना भयो तलब, भत्ता लगायतका सबै कुराहरु रोकिएको छ । हामीलाइ तलब चाहियो नि, घर परिवार छ । यतिमात्र हैन, दिवा खाजा रोकिँदा बालबालिका भोकभोकै पढ्न बाध्य छन्, विद्यालयमा चक, डस्टर, मार्कर, झाडु किन्ने पैसा समेत छैन । साह्रै गार्हो भईसक्यो । तलब नपाएपनि विद्यालयमा पठनपाठन गराएका थियौ तर अब अत्ति भयो । पढाउने सामग्री नै छैन, परीक्षा सञ्चालन गर्ने पैसा छैन । यी सबै विषयबारे सिडियो सर पनि जानकार हुनुहुन्छ, त्यहि कारण सम्पूर्ण विद्यालयको गेटमा ताला लगाएर चाँबी बुझाउन यहाँ आएका हौँ ।’
पटकपटक आवाज उठाउँदासमेत मागप्रति कुनै सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाएको उनी सुनाउँछन् ।
शिक्षकहरुको माग नगरपालिकाले सम्बोधन नगरेपछि शिक्षक महासंघले माघ १ गतेदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित आन्दोलन अनुसार बुधवार, बिहिवार, शुक्रवार सम्म हाफ पिरियडसम्म पढाएर सांकेतिक रुपमा विरोध जनाएका थिए ।
अबपनि नगरपालिकाले आफूहरुको माग सम्बोधन नगरे, तलब भत्ता निकास नगरे, विद्यालयहरुमा रकम नपठाए सशक्त आन्दोलनका कार्यक्रमहरु अघि सार्ने शिक्षकहरुको चेतावनी छ ।
विद्यालयको चाँबी बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यस विषयलाई समाधान गर्न हर तरिकाले प्रयास गर्दासमेत नतिजामुखी रिजल्ट नआएको बताए । उनले नगरप्रमुख सिंगासन सा तेलीसँग लिखित तथा मौखिक रुपले पहल गर्दासमेत जटिलता नहटेको बताए ।
यो समस्या समाधानका लागि आफूहरु पछि नहट्ने प्रमुख जिल्ला अधिकारी अर्यालको प्रतिवद्घता छ ।
बहुदरमाई नगरपालिका विगत लामो समयदेखि राजनीतिक दाउपेचबिच अल्झिएको छ । नगरप्रमुख तेलीले बजेटको अख्तियारी नदिँदा त्यहाँका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत प्रभावित बनेका छन् । भने विकास निर्माणका कार्यहरु पनि ठप्प छन् ।