बारा । परेवाको विषयलाइ लिएर बाराको गढीमाई मन्दिर परिसर तनावग्रस्त बनेको छ ।
महागढीमाई नगरपालिकाको वडा नम्बर –१ बरियारपुर गाउँस्थित गढीमाई परिसर आज बिहानैदेखि तनावग्रस्त बनेको हो ।
गएराती स्थानीय ४ जना बालबालिकाले मन्दिरको छतबाट परेवा समातेका थिए। त्यसपछि फर्किने क्रममा उनीहरुमाथि नगर प्रहरीले लठ्ठीले कुटपिट गरेको बताइन्छ । कुटपीटबाट बालबालिकाको शरीरको विभिन्न भागमा चोटपटक लागेको जनाइएको छ ।
यहीकारण विवाद उत्पन्न भएको बताइएको छ । विवाद उग्ररुप लिएपछि बिहानै वार्ताका लागि मन्दिर परिसरमा स्थानीयहरु भेलासमेत भएका थिए । तर फेरि मतभेद बढदै गएपछि नगरप्रहरी र स्थानीयबिच दोहोरो झडप भएको प्रहरीले जानकारी दिएको छ।
आक्रोसित स्थानीयले मन्दिरको विभिन्न संरचना, दानपेटीका लगायतमा तोडफोड गर्दै नगरप्रहरीमाथि नै जाइलागेका थिए ।
‘मेयर चोर’ को नारा लगाउदैँ आक्रोसित स्थानीयले गढीमाई मेला मूल समितिको कार्यालय अगाडी प्रदर्शन गरेका थिए । नगरप्रमुख यादव सोही कार्यालयभित्र स्थानीयको घेराबन्दीमा परेको जनाइएको छ ।
बाक्लो सङख्यामा प्रहरी परिचालन
घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बारा तथा सशस्त्र प्रहरीले बाक्लो सङख्यामा प्रहरी टोली परिचालन गरेको छ ।
डिएसपी प्रकाश सापकोटा नेतृत्वको टोली बिहानैदेखि घटनास्थलमा छ । भने सशस्त्र प्रहरीका ४५ जना टोली त्यहाँ खटिएका छन् ।
कुनै पनि अप्राकृतिक घटना नहोस्, स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस्, सार्वजनिक र व्यक्तिगत शान्ति सुरक्षामा असर नपरोस् भन्ने उद्देश्यले बाक्लो सङख्यामा प्रहरी परिचालन गरिएको बारा प्रहरी प्रमुख महेन्द्र खड्का बताउँछन् । उनका अनुसार अहिले त्यहाँको स्थिति नियन्त्रणमै छ ।
यद्यपी नगरप्रमुख यादव स्थानीयको घेराबन्दीको परेको हो भन्ने प्रश्नमा उनले भने, ‘नगरप्रमुख यादवले आफ्नो काम कारवाही गढीमाई मेला मूल समितिको कार्यालय सोही धर्मशालामा राख्नुभएको छ । उहाँले दैनिकी रुपमा त्यहाँ बसेर काम गर्नुहुन्छ । त्यहि कारण घेराबन्दीमा परेको भन्न मिल्दैन ।’
प्रहरी प्रमुख खड्काले घटनाबारे दुवैपक्षसँग समन्वय गरी वार्ताको तयारी भइरहेको बताए ।
यता सञ्चारकर्मीहरुसँग कुरा गर्दै नगरप्रमुख यादवले सुनियोचित ढंगले घटना घटेको बताएका छन् । उनले आफूविरुद्ध राजनैतिक तरिकाले आक्रमण गर्न खोजिएको भन्दै त्यस्तो नगर्न अनुरोध गरे ।
उनले घटनाको वास्तविक पत्ता लगाउन वार्तामा आउन सम्बन्धीत पक्षसँग अनुरोध गरेका छन् । साथै उनले धार्मिक पवित्रता भएको गढीमाई मन्दिरमा तोडफोड गर्ने, धार्मिक स्थलमाथि राजनीति गर्न खोज्ने विषय सह्य नहुने बताए । उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरी मन्दिरमा तोडफोड गर्नेबाट क्षतिपूर्ति तिराउन प्रहरी प्रशासनसमक्ष माग गरेका छन् ।