
बर्दिया । पाटेबाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको ज्यान गएको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी उनको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोलीले बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै सात मिटर भित्र गएर शव फेला परेको हो ।
पाटे बाघले आक्रमण गरेर घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट होहल्ला गर्दै टोलीले शव ल्याएका हुन् । शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आइतबार दिउँसो पाटे बाघले उनमाथि आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टोली खटिसकेको छ ।
डाँट गन लगायतका अन्य प्रविधिको प्रयोगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनको भनाइ छ ।