ट्रेन्डिङ

एक करोड ५ लाख मूल्यका सामानसहित ट्रकहरु बाराबाट पक्राउ

वीरगन्ज । बारा प्रहरीले एक करोडभन्दा बढी मुल्यका सामान लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानका क्रममा जिल्लाका फरकफरक स्थानहरुबाट प्रहरीले सामानसहित ट्रकहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले एक करोड ५ लाख ९५ हजार ५२८ मूल्यका सामानसहितको ट्रकहरु पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा बिल भरपाई नभएको तथा स्रोत खुलाउन नसकेकाले २ वटा गाडीसहित सामान पक्राउ गरिएको हो ।

प्रहरीले जीतपुरसिमरा-७ जितपुर चोकबाट ७३ लाख ८४ हजार ४१७ मूल्य बराबरका खुद्रा सामानसहित ट्रक बरामद गरेको जनायो । पर्साबाट सप्तरीतर्फ जाँदै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रकबाट उक्त मूल्यका टायर, पाइप, औषधी, स्प्रे ट्याङक लगायतका सामान बरामद भएको हो ।

यसैगरी प्रहरीले जितपुरसिमरा-१ पथलैया चोकबाट वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रक पक्राउ गर्यो । ट्रकबाट ३१ लाख ५१ हजार १११ रूपैँया बराबरका टायर, मोटर पार्टस, केमिकल पाउडर र ईलेक्ट्रोनिक सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

यस्तै महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवाबाट प्रहरीले ६० हजार मूल्यका कस्मेटिक्स सामान बरामद गरेको प्रहरीको भनाई छ ।

बरामद सामानसहितका ट्रकहरु आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै