वीरगन्ज । वीरगन्ज महानगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको शुक्रबार (आज) एक समारोहका बिच नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।
उद्घान गर्दै प्रमुख सिंहले नगरबासीको चाहना साकार पार्न चालु आर्थिक वर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए ।
उनले चालु आर्थिक बर्षका लागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवश्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए ।
बजेट कार्यान्वयनका लागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गरेका थिए ।
नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गर्नुभएको विधेयक तथा प्रस्ताबहरु सर्वसम्मतले पारित गरेको छ ।
नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिबाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ । जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई महानगर प्रमुख सिंहले आग्रह पनि गरे ।
नगरसभापछि सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले बैभव वीरगन्ज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधीहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताए ।
सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगन्ज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको पनि उनको भनाइ छ ।
नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।