ट्रेन्डिङ

मधेसका मुख्यमन्त्री सिंहले भने– प्रदेश सरकारको विकासका लागि सबै प्रदेश सरकारहरुले राजश्व संकलन गर्न पाउनुपर्छ

३, असोज बीरगन्ज । मधेशका प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारहरुले आफैले राजश्व संकलन नगरेसम्म प्रदेशको विकास सम्भव नरहेको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

प्रदेश सरकारको गृह मन्त्रालयले संविधान दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरि कार्यक्रम पश्चात अन्तरक्रिया कार्यक्रमको मुख्यमन्त्री सिंहले देशमा धेरै बजेट संघ सरकार मातहत रहने गरेको औल्याएका थिए ।

कुल बजेटको करिब १५ प्रतिशत बजेटबाट सातै प्रदेशदाई बाँडफाँड गरेर दिने गरेको उनको भनाइ छ । उनका अनुसार यो बजेटबाट एउटा प्रदेशले पाउने रकम भनेको करिब २÷३ प्रतिशत मात्रै हो ।

उनले भने, ‘अनि यो २÷३ प्रतिशत बजेटले कसरी प्रदेशको विकास हुन्छ, कसरी शिक्षा तथा स्वास्थ्यको अवस्था ठिक हुन्छ । त्यसकारण प्रदेशको समग्र विकासका लागि पर्याप्त बजेट चाहिन्छ, जुन आफैले राजश्व उठाए मात्र सम्भव छ ।’ अर्थात् प्रदेश सरकारले आफैले राजश्व नउठाएसम्म प्रदेशको विकास नहुने उनको भनाइ छ ।

मधेश सरकारले पहिलो पटक विभिन्न कार्यक्रम गरी औपचारिकरूपमा संविधान दिवस मनाएको छ । मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकारले पहिलोपटक मधेशमा संविधान दिवस मनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले हरेक प्रदेशले आफ्नो मातहत छुुट्टै कर्मचारी र सुरक्षा निकाय राख्न नपाउँदासम्म सुशासन कायम हुन नसक्ने ठोकुवा गरेका थिए ।
उनी भन्छन्, ‘प्रदेशमा सुशासन कायम भए, प्रदेशसंगै देशको पनि सम्बृद्धि हुन्छ । जनतामा पनि सबैप्रति सकारातमक दृष्टिकोण पलाउँछ । त्यसकारण प्रदेशहरुमा बेग्लै कर्मचारी राख्न पाउने सुविधा हुुनैपर्छ ।’

मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्न जरुरी रहेको बताएका थिए । संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेकोले पहिलो प्राथमिकतामा यसको रक्षा गर्न जरुरी रहेको उनको प्रष्टोक्ति छ।

प्रदेश सरकारको गृह मन्त्रालयले संविधान दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । बिहीबार विहानै जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट ब्याण्ड बाजा समेत बजाइएको थियो ।

नगर परिक्रमापछि निकालिएको प्रभातफेरि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संकृति भवनको सभा हलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार रहँदा संविधान दिवस भने सरकारीस्तरबाट मनाउने गरिएको थिएन । तर जनमत नेतृत्वको सरकारले करिब ७ वर्ष पछाडि संविधान दिवस मनाएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै