वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वीरगन्जको नारायणी रंगशालाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
बिहिबार आफ्नो टोलीसहित अध्यक्ष साहले रंगशालाको अनुगमन तथा निरिक्षण गरेका हुन् । अनुगमन गर्दै पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले रंगशालाको दयनीय अवस्था देखेर चिन्ता व्यक्त गरेका छन् ।
हालै पर्साको भ्रमण गरी फर्किएका नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणी रङ्गशालाको अवलोकन समेत नगरेको आलोचना गरे । उनले भने, ‘वर्तमान प्रभानमन्त्री केपी शर्मा ओली पर्सा जिल्ला आउनुभयो, तर एकचोटी पनि रंगशाला पुग्नुभएन, रंगशालातर्फ उहाँको ध्यानै गएन । यस्तो बिजोग बनेको रंगशालाको पूननिर्माणका लागि उहाँले केहि बोल्नुभएन ।’
देशकै दोस्रो ठूलो रंगशाला रहेको नारायणी रंगशालालाई खेलकुदको केन्द्रका रूपमा पूनः स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए । त्यसका लागि आवश्यक बजेट तथा योजना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । रंगशालाको जीर्णौदारका लागि सक्दो पहल गर्ने उनको आश्वासन छ ।
उनले पर्सामा तीन जना सङ्घीय र दुई जना प्रदेश मन्त्री हुँदा समेत यहाँको समस्या ज्यूँकात्यूँ रहेको बताए । केन्द्र सरकारले वीरगन्जलाई सधैँ लुट्ने ठाउँको रुपमा मात्र हेर्ने गरेको अध्यक्ष साहको आरोप छ ।