वीरगन्ज । चिसो बढेपछि रौतहटका विद्यालयमा पठनपाठन बन्द भएका छन् । पछिल्लो एक सातादेखि चलेको शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू धमाधम बन्द हुन थालेका हुन् ।
बिहानैदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको भन्दै यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरी विद्यालय बन्द गरिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा आज बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन्।
यसैगरी बाराको निजगढ नगरपालिकाले समेत आफूमातहतका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । अत्याधिक चिसोका कारण विद्यालयमा नियमित पठनपाठन कार्य असहज भएकाले विद्यालयहरुमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए ।
उनका अनुसार वर्षे बिदामा मिलान हुने गरी आजदेखि २६ पुष गरी दुइ दिन विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।
यस्तै बाराकै महागढीमाई नगरपालिकाले समेत मातहतका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । बढ्दो चिसोका कारण बालबालिकाहरुको स्वथ्यमा पर्न सक्ने प्रतिकुल असरबाट बचाउँन पुष २६ गतेसम्म बिदा दिएको छ ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिकाले समेत आजदेखि तीन दिनका लागि मातहतका सम्पूर्ण विद्यालयहरुका जाडो बिदा दिएर पठनपाठन बन्द गरेको छ ।