सप्तरी । सप्तरीबाट एक सय ९२ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
वितेको तीन महिनाको अवधिमा उक्त सङख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।
प्रहरीले पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षको असोजदेखि १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको थियो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा पाँच लाख ९९ हजार रुपैयाँ जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार एकसय २१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । सोही अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको ७० लाख ७२ हजार रुपैयाँ बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए ।
यस्तै लागूऔषध कारोबारमा संलग्न तीन जनालाईसमेत पक्राउ गरिएको छ । यस अवधिमा एक सय ८५ सवारीसाधन दुर्घटना भएकामा सात जनाको मृत्यु तथा तीन सय ८४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।