ट्रेन्डिङ

धानबालीमा आगो लगाउनेमाथि कानुनी डन्डा चलाउन जसपा नेपालले निकाल्यो जुलुस, बुझायो सिडिओलाई ज्ञापनपत्र

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको जगरनाथपुरमा धानबालीमा लगाइएको आगलगी प्रकरणको दोषीलाई कारबाहीको माग गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल पर्साले घटना भएको १० दिन बितिसक्दा पनि कुनै कारबाही नभएपछि आज जुलुस निकालेको हो ।

जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय पर्सामा गएर कारबाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमार्फत जसपा नेपालले दोषीलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरेको छ ।

घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा नल्याइए आफ्नो पार्टी थप आन्दोलनका कार्यक्रमहरुसमेत गर्ने चेतावनी दिइएको जसपा नेपालका अध्यक्ष यादवले बताए ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिट्टै घटनाको दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।  ‘यो घटना गम्भीर, हामी चाँडै अनुसन्धान गरेर पीडितलाई राहत दिलाउने काम गर्छौ,’ उनको आश्वासन छ ।

गएको ६ गते जगरनाथपुर गाउँपालिका निवासी हरेन्द्र यादवको धानबालीमा आगो लगाइएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नो जग्गामा गर्न दिएको भन्दै एक पक्षले आगो लगाइदिएको पीडित पक्षहरुको आरोप छ ।

यादवको साढे तीन विघाको २ सय क्वीन्टल भन्दा बढी धानबालीमा आगो लगाइएको बताइन्छ । धान लगाइएको खेतमा  कार्यक्रम गर्न दिइएको भन्दै मन्त्री प्रदीप यादवका समर्थकहरुले आगो लगाइदिएको पीडितको आरोप छ ।

यद्यपी, मन्त्रीका पक्षधरहरुले भने मन्त्रीमाथि लगाइएको आरोप निराधार रहेको बताइरहेका छन् । पीडित यादवको जग्गामा ‘जनतासंग जसपा नेपालः आधारभुत संगठन निर्माण अभियान’ कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै