वीरगन्ज । पर्साको छिपहरमाइमा गाउँपालिकाको भ्रष्टचारविरुद्ध स्थानीयहरु धर्ना कार्यक्रम सुरु गरेका छन् ।
भ्रष्टचारमा नगरपालिका चुर्लुम डुबेको आरोप लगाउँदै पारदर्शिताको माग गर्दै गाउँपालिका अगाडि स्थानीयहरु धर्ना सुरु गरेका हुन ।
छिपहरमाइ संघर्ष समितिको ब्यानरमा स्थानीयहरु विभिन्न २६ बुँदे माग राख्दै धर्नाका कार्यक्रम सुरु गरेको स्थानीय धर्मेन्द्र यादवले बताए ।
उनका अनुसार गाउँपालिकाको कार्यालयले योजनादेखि भएका कामहरु सबै लुकाउने गरेको छ ।
‘सूचनाको हक प्रयोग गरेर माग्दा पनि नदिने गरेको छ, आफ्नो ‘वेभसाइट’ मा पनि योजनाहरु सार्वजनिक नगर्ने गरेको छ,’ उनले भने । जुनकारण नगरपालिकाले चरम भ्रष्टचार गरिरहेको छर्लङ्ग भइरहेको उनको बुझाइ छ ।
मूलतः रेडबुकको सार्वजनिकीकरण, वेभसाइटमा योजनाहरु अपडेटको माग गर्दै स्थानीयहरु मंगलबार दोस्रो दिन धर्नामा बसेको उनले बताए ।
माग पूरा नहुँदासम्म धर्नाका कार्यक्रम जारी रहने स्थानीहरुको भनाइ छ । उनीहरुका अनुसार मेयरको ज्यादती बढेपछि स्थानीयहरु गाउँपालिको रवैयाविरुद्ध उत्रेका छन् ।
संघर्ष समितिले ०७५ सालदेखि आर्थिक वर्ष ०८१ सालको मंसिर मसान्तसम्म सौर्य सिचाइ प्रणालीको योजना कहाँकहाँ राखिएको छ ? त्यसको लोकेसन, इस्टिमेट डिटेल्स, लाभग्राहीको विवरण बुझेको भरपाइसहित माग भए भने त्यसको निवेदन छनौट तथा सम्झौताको प्रक्रिया, सम्झौताको गरेको संस्थाहरुको नाम,मिति, रकम, सञ्चालकको नाम र ठेगाना उल्लेखित विवरण, प्रगती विवरणको प्रमाणित प्रतिलिपिको पहिलो बुँदामा माग गरेको छ ।
यसैगरी आर्थिक वर्ष ०७५ सालदेखि ०८१ सालको मंसिर मसान्तसम्म गाउँपालिका अध्यक्षले आफ्नो नाममा बुझेको जिन्सी सामग्रीहरु, पेश्की तथा भुक्तानी के कति बुझेको छ कि, छैन त्यसको प्रमाणित प्रतिलिपिसहितका २६ बुँदे मागहरु राखेको छ ।
तर गाउँपालिका अध्यक्ष मनोज गुप्ताले भने संघर्ष समितिले उठाएको अधिकांश मागहरु नाजायज रहेको बताए ।
उनका अनुसार २६ वटा मागहरुमध्ये १÷२ वटा मागहरु मात्र जायज छन् । बाँकी सबै मागहरु अनुचित रहेको उनको दाबी छ । त्यसकारण संविधान भन्दा बाहिर गएर मागिएका सूचनाहरु जानकारी दिन नमिल्ने उनको भनाइ छ ।
अधिकांश मागहरु पूरा गर्न सम्भव नभएकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।
यो सब राजनीतिक रिसइबी निकाल्ने काम भइरहेको उनको तर्क छ । छिपहरमाइ संघर्ष समितिले दोस्रो दिन एक घण्टा धर्ना बसेको थियो ।