काठमाण्डौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको झण्डै थप पाँच लाख खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ती व्यवस्थापन महाशाखाका अनुसार आइतबार चार लाख ९६ हजार २८० मात्रा थप खोप ल्याइएको हो ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले बताए ।
सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइनेछ ।
‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ ।
पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने योजना छ ।
१७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।