ट्रेन्डिङ

हामी आयौँ

दोस्रो जनआन्दोलनपछि नेपालमा संघीयताको जग हाल्ने कामको सुरुवात मधेशबाट भएको थियो ।

तराई–मधेशबाट सुरु भएको राज्यबाट भएको विभेदविरुद्धका आन्दोलनकै बलमा नेपालमा संघीयताको जग बलियोसँग बस्यो । नयाँ संविधान जारी भएसँगै मधेशसहित सातै प्रदेशले संघीयताको अभ्यास गरिरहेका छन् ।

देशमा हाल सक्रिय तीन तहका सरकारलाई खबरदारी गर्ने दायित्व राज्यको चौथो अंगका रुपमा रहेको सञ्चारमाध्यम र पत्रकारहरूको काँधमा छ । संघीयताले केही राम्रा अभ्यास भइरहे पनि समस्या पनि छन् ।

भ्रष्टाचार, अनियमितता, असुरक्षा र विभेद जस्ता चुनौती हामीमाझ अझै छन् । संघीयताको जग बसाल्न भूमिका खेलेको मधेश प्रदेशलाई अझै पनि केन्द्र सरकारले फरक दृष्टिकोणले हेर्ने गरेको छ ।

बजेट विनियोजनदेखि विकासका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य जस्ता विकासका आधारभूत पूर्वाधारमा केन्द्र सरकारले अझै पनि मधेशलाई विभेद गरिरहेको छ ।

सीमा सुरक्षाको जिम्मेवारी काँधमा लिएका मधेशबासी जनताले नागरिकता जस्ता संवेदनशील विषयमा राज्यबाट अन्याय भोग्नु परेको छ । खाद्यान्नको भण्डारका रुपमा परिचित मधेशले बाढी, डुबान, मरुभूमिकरण, पानीको चरम अभाव पनि खेप्नु परेको छ ।

यी यावत समस्याबीच मधेशमा सम्भावना र अनेक अवसरका ढोका पनि खुल्दैछन् । विकासले गति लिँदै गर्दा राज्यका निकाय र नेतृत्वलाई खबरदारी गर्ने सशक्त माध्यम पनि हामीलाई चाहिएको छ ।

मधेशमा रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनको पनि उभार छ अहिले । तर, मधेशको आावाज राज्यका सबै तहका निकायमा लैजाने, जनताका समस्या बोक्न सक्ने, भ्रष्टाचार र अनियमिततामा खबरदारी गर्नुपर्ने खाँचो अझै पनि जल्दोबल्दो छ

। यहाँको सांस्ृकतिक र जातीयसहितका विभेदविरुद्ध पनि खबरदारी र सचेतानको आवश्यकता छ । अर्कातिर खुल्ला सिमाना भएको विशाल छिमेकी मुलुकसँगको सद्भावपूरर्ण सम्बन्धमा पनि समस्या आउन नदिन हामीले ख्याल गर्नुपर्ने जरुरी छ ।

जनकपुर जस्तो धार्मिक तथा सांस्कृतिक सहर देशकै आर्थिक राजधानी वीरगञ्ज समेटिएको मधेश अझै धेरै कुरामा पछाडि छ । अशिक्षा, पछौटेपन, गरिबी, भ्रष्टाचार र विभेद यहाँका चुनौती हुन् ।

नेपालमा संघीयतालाई बलियो बनाउने अग्रणी भूमिका खेलेको मधेशलाई अब हरेक क्षेत्रबाट बलियो बनाउनु आवश्यक छ । मधेशमा असुरक्षा, तस्करी र अपराध समस्याका रुपमा छन् । यी समस्याविरुद्ध पनि हामीले डटेर खबरदारी गर्नुपर्ने जरुरी छ । मधेशको अर्को पहिचान यहाँका बहुसांस्कृति, धार्मिक पहिचान पनि हो ।

धार्मिक र सामाजिक सद्भावसहित अघि बढिरहेको मधेशलाई देशकै अब्बल प्रदेशका रुपमा स्थापित गराउन सञ्चारमाध्यमको भूमिका उत्तिकै हुन्छ ।

भौगोलिक र सांस्कृतिक हिसाबमा विविधतायुक्त मधेशलाई सञ्चारमाध्यमकोतर्फबाट केही योगदान दिँदै अग्रगामी यात्रामा एउटा इँटा थप्न हामी आएका छौँ ।

मधेश प्रदेशमा अनलाइन सञ्चारमाध्यमहरू विस्तारै फस्टाउँदै गइरहेका बेला हामी पनि त्यही यात्रामा मिसिने अठोटसहित तपाईंहरूमाझ आइपुगेका छौँ ।

हामी मधेशसञ्चार डटकममार्फत यस प्रदेशका समाचार मात्रै पस्किँदैनौँ, तीनै तहका सरकारसहित राज्यका हरेक अंग र निकायलाई पनि खबरदारी गर्दै अगाडि बढ्नेछौँ ।

स्थानीय घटना र मुद्दालाई केन्द्रसम्म पु¥याउन र केन्द्रदेखि तलसम्मका सरकारलाई जनताको घरदैलोसम्म चिहाउने वातावरणमा हामी एउटा प्रयास गर्नेछौँ । यो प्रदेशका नागरिकहरूको समस्या र आवाजलाई राष्ट्रियस्तरमा प्रस्तुत गर्न भूमिका खेल्नेछौँ ।

इन्टरनेटको पहुँच गाउँगाउँमा भएकाले अनलाइन सामग्रीको विश्वसनीयता जोगाउँदै अघि बढ्ने प्रण हामी गर्दैछौँ । मधेश प्रदेशको राजधानीमा रहेर हामी स्थानीय जनजीविकाका मुद्दाको उठान त गर्छौं नै साथमा राज्यका निकायलाई पनि खबरदारी गर्ने प्रण गर्छौं । हाम्रो यो प्रयासमा समग्र प्रदेशबासीको साथ, सहयोग र हौसलाको अपेक्षित छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै