काठमाडौं । ललितपुरमा च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।
सुनसरीको इटहरी घर भइ सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो ।
गुरुङको हत्या आरोपमा प्रहरीले भट्टसहित तीन जनालाई पक्राउ गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए ।
अहिले डडेलधुराको पर्शुराम नगरपालिका–११ घर भइ ललितपुर महानगरपालिका–९ च्यासलस्थित टद टाउन क्याफेको काउन्टरमा काम गर्ने २६ वर्षीय हेमराज भट्ट र काभ्रेको मण्डनदेउपुर नगरपालिका(११ घर भइ सोही क्याफेमा काम गर्ने जनकबहादुर तामाङलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
उनीहरू मध्ये हेमराज भट्टले चक्कु प्रहार गरेको जनाइएको छ । बेलुका डिनर खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले उक्त क्याफेमा गएर साथीहरुसँग खुसी साट्दै थिए । करिब ७र८ जनाको समूहमा गएको गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति १० बजे मृत्यु भएको थियो ।