ट्रेन्डिङ

नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक, के–के भए निर्णय ?

काठमाण्डौँ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समितिको आज पहिलो बैठक बसेको छ । विभिन्न चार बुँदे निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

त्यस्तै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक सङ्कट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता बैठकले गरेको छ ।

बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्ने गरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै