वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको विवाद सतहमा आएको छ । नयाँ आर्थिक वर्ष भएदेखि सल्किएको विवादले अहिले उग्ररुप लिएको मात्रै छैन, छताछुल्ल नै भएको छ ।
आन्तरिक विवाद नसुल्झिएपछि नगरपालिकाको सामान जलाउनेदेखि लिएर प्रदर्शनहरु हुन थालेका छन् । कोही मेयरको पक्षमा प्रदर्शन गरिरहेका छन भने कोही मेयरको रवैयाँको विरुद्धमा प्रदर्शन उत्रिएका छन् ।
अहिले बहुदरमाइ नगरपालिका दुइ ध्रुवीकरणमा विभाजन भएको देखिन्छ । एउटा पक्षले मेयर सिंगासान साह तेलीको वकालत गरिरहेको छ, अर्को पक्षले भने नगरपालिकाभित्रको मनपरी त्यागेर निकास दिन मेयरलाई आग्रह गरिरहेको छ ।
तर मेयर तेलीले भने आफ्नै हठमा बसेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा बहाना देखाएर किचलो कायमै राख्न खोजिरहेको बताइन्छ ।
यसरी विवादको भूमरीमा नगरपालिका फसेको छ । जुनकारण नगरपालिकाको सबै कामकाज ध्वस्त भएको छ, लथालिङ्ग बनेको छ ।
लामो समयदेखि कर्मचारीहरुले तलब खान पाएका छैनन् भने विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको छ ।
कार्तिक महिनाको पहिलो साता नै नगर परिषद् भइसक्दा पनि मेयर सिंगासन साह तेलीले बजेट खर्चको अख्तियारी प्रदान नगर्दा नगरपालिकाको कामकाज ठप्प भएको हो ।
यसरी परिषद् भएको झण्डै तीन महिनादेखि बजेट खर्चको अख्तियारीमा हस्ताक्षर नगर्दा शिक्षक, निजामती कर्मचारी, तथा स्वास्थ्यकर्मीहरु तलब खान पाएका छैनन् ।
तलब भत्ता खान नपाउँदा शिक्षकहरुले पठनपाठन ठप्प पारेपछि पठनपाठनको सञ्चालनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिनुपर्यो, नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपर्यो ।
तरपनि नगरपालिकाले उनीहरुको माग सम्बोधनप्रति चासो नदेखाएपछि विद्यार्थीहरु अझ आक्रोशित बन्दै त्यसको भोलीपल्ट नगरपालिकाको सामानहरु बहिर निकालेर जलाइदिए । जसबाट नगरपालिकाले लाखौंको क्षति बेहोर्नु परेको नगरपालिकाले आफै भनिरहेको छ ।
विवादको कारण
एक वडाअध्यक्षका अनुसार, खासमा विवादको मुख्य कारण–६ नम्बर वडा हो । यो वडामा वडाअध्यक्ष प्रमोद प्रसाद साह तेली छन्, उनी मेयर तेलीको नातेदार हुन । आफ्नै नातागोताभित्र पर्छन् ।
यसको अन्य पाटोमा जानु भन्दा पहिला यहाँ मेयर तेली र वडाअध्यक्षबिचको साइँनोको बारेमा जानौं ।
चाखलाग्दो विषय के छ भने ६ नम्बरका वडाअध्यक्ष कांग्रेसका पूर्व प्रदेश सांसद राजेश्वर साह तेलीको आफ्नै दाइ हुन ।
यिनै पूर्वप्रदेश सांसदको जोडबलले गएको स्थानीयको तहको चुनावमा स्वतन्त्रबाट उनी वडाअध्यक्षमा जितेका हुन ।
आफू स्वतन्त्रबाट जित्दा उनले त्यसबेला पाएको अधिकांश भोट मेयरमा सिंगासन साह तेलीलाई नै दिन लगाएका थिए । जुन ठूलो सहयोगका कारण मेयरमा तेली निर्वाचित भएका हुन ।
अब कुरा गरौं विवादको जड बारे ।
यही वडाअध्यक्षको वडामा भने अहिले आन्तरिक विवाद छ । वडा सदस्यहरु एकातिर छन भने वडाअध्यक्ष एक्लै अर्कोतिर छन् । जुनकारणले यो वडामा वडास्तरीय परिषद् हुन सकेन ।
नगरसभामा वडापरिषद्बाट आएको योजनालाई राख्नुपर्ने प्रावधान छ । स्रोतका अनुसार तर मेयर तेलीले ६ नम्बर वडामा रहेको आन्तरिक विवादलाई लत्याउँदै वडाअध्यक्षका अनुसार रेडबुकमा बजेट राख्न दबाब दिन थाले ।
एक वडाअध्यक्षले भने, ‘मेयर तेलीको दबाबको बाबजुद पनि हाकिमले रेडबुकमा ६ नम्बरको बजेट राखेनन्, त्यसपछि मेयर साहेबले बजेट अध्ययन गरे जहाँ उनले ६ नम्बरको बजेट देखेनन् । बजेट नदेखेपछि आफूले पारित निर्णयमा हस्ताक्षर नगर्न ढिपी कसे, अनि यही बेलादेखि दुबैजनामा मनमुटाव सुरु भयो ।’
उनका अनुसार मुख्यतः यही विवादका कारण नगरपालिकामा किचलो बढेको हो ।
‘त्यसपछि दुबैजनामा दूरी बढ्दै गयो, अनि मेयरसाहेबले आफ्नो रिसइबी पोख्न हाकिमसाहेबको सरुवा गराउने अडान लिए,’ उनले भने । मेयरसाहेबको यही हठका कारण नगरपालिका थला परेको उनी बताउँछन् । उनका अनुसार यो कुराको पुष्टि मेयरसाहेब आफैले हाकिमको सरुवाको विषय निकालेर गरिरहेका छन् ।
यता मेयर तेलीले पनि आफ्नो माग पूरा नहुँदासम्म नगरपालिका सञ्चालन नगर्ने अडान रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘नगरपालिकामा धेरै विवाद भयो, मैले पटकपटक मन्त्रीज्यूलाई हाकिमको सरुवा गर्न भने तर त्यसको वास्ता भएन । अब यति विवाद भइसकेपछि हाकिमको सरुवा नगर्दासम्म म नगरपालिकाको कुनै सेवा सञ्चालन गर्दिँन् ।’
असारभित्र नगर परिषद् गरेर विकास निर्मार्णको कार्यलाई अगाडि बढाउनुपर्ने सरकारी नीति छ । तर बहुदरमाइ नगरपालिकाको आन्तरिक विवादका कारण नगर परिषद् झण्डै चार महिना ढिलो भएको थियो ।
८ कार्तिकमा नगर परिषद् भइसक्दा पनि अहिलेसम्म मेयर तेलीले आफ्नो मनपरीका कारण बजेट खर्चमा अख्तियारी प्रदान गरेका छैनन् ।