सप्तरी । विभिन्न चार बुँदे सहमतिसँगै सप्तरीको कृषि सामग्री कम्पनीमा लगाइएको ताला खोलिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड सप्तरीको गोदाममा लागेको ताला खोलिएको छ । मलमा भएको कालोबजारी रोक्ने, संलग्नलाई कारबाही गर्ने र किसानहरुलाई आवश्यकताको आधारमा मल वितरण गर्नेसहितका चार बुँदे सहमतिपछि ताला खोलिएको हो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, मधेस सरकारका मुख्यमन्त्री सतिश सिंह तथा सप्तरीका सबै स्थानीय तहका प्रतिनिधिहरुको ताला हटाइएको हो ।
सहमतिअनुसार संघीय सरकारबाट आएको र राजविराजस्थित कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा रहेको मलखाद अविलम्ब वितरण गर्ने निर्णय भएको छ ।
त्यस्तै जिल्लामा माग बमोजिम मलखाद नआएको र आएको मलमा समेत कालोवजारी तथा कृत्रिम अभाव गर्ने सहकारी, डिलर र अन्य निकायलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै जिल्लामा आवश्यक मल संघ सरकारबाट ३० प्रतिशत पनि नभएकाले अविलम्ब आवश्यक मल माग गर्ने निर्णय गर्नुका साथै मल वितरण गर्दा कुनैपनि दलीय प्रभाव नराखी लाभग्राहीको प्राथमिकतालाई आधार बनाएर वितरण गर्ने निर्णय भएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
यसअघि मलखाद वितरणमा बेथिति भएको भन्दै सप्तरीका पालिका प्रमुखहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । विवादमा बुधबार जनमत पार्टीका अध्यक्ष राउतसहित मुख्यमन्त्री सिंह धर्नासमेत बसेका थिए ।
धर्नापछि जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै मलखादको कालोबजारी रोक्ने तथा किसानलाई सुपथ मूल्यमा सहज तरिकाले मलखाद वितरण गराउन आग्रह गरेको थियो ।