काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री तथा गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन उनले माग गरे ।
उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए । उनले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिरहेको बताए ।
शर्माले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर यतिसम्म अमानवीय व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।
उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्याउने काम गरिरहेको बताए ।