बीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पूर्जी जारी भएको छ ।
पर्सा जिल्ला अदालतले सभापति लामिछानेविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीले सानो पाइला बचत ऋण तथा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न पक्राउको अनुमति माग गरेको थियो । प्रहरीले लामिछानेसहित १४ माथि अनुसन्धानको लागि पक्राउको अनुमति मागेपछि जिल्ला अदालत पर्साले पक्राउ पूर्जी जारी गरेको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले बताए ।
उनका अनुसार बीरगन्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन भएको मुद्दामा लामिछानेसहित १४ जना अनुसन्धान गर्नुपर्ने देखिएको छ । त्यही सिलसिलामा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति मागिएको प्रहरीले जानकारी दिएको छ ।
अब बयानका लागि प्रहरीसंग समन्वय गरेर सभापति लामिछानेलाई बीरगन्ज ल्याउनेबारे तयारी थालिएको प्रहरीले बताएको छ ।