
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड भएको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् ।
शिव मन्दिरको शिवलिङ तोडफोड भएको स्थानीयवासीहरुले देखेपछि सोको विरोधमा स्थानीयहरुले जनकपुरधाम–जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन गरिरहेका छन् ।
शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले तोडफोड गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै आज बिहानदेखि नै सडक अवरुद्ध गरेको स्थानीय युवा रोहन चौधरीले जानकारी दिए ।
बुधबार राति नै कसैले मन्दिरको प्रतिमास्वरुप शिवलिङ तोडफोड गरेकाले आफूहरु आन्दोलनमा उत्रेर तोडफोड गर्ने दोषीलाई कारबाहीको माग गरेको उनले बताए ।
महोत्तरी प्रहरीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले मन्दिरमा तोडफोड गरेको विरोधमा स्थानीयले सडक अवरुद्ध पारेको र सो सडक खुलाउनका लागि स्थानीयवासीहरुसंग छलफल भइरहेको बताए ।