जनकपुरधाम । मधेश प्रदेशको राजधानीमै तीन दिनदेखि निजी विद्यालयहरु बन्द छन् । निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा उनीहरु आफैले विद्यालय बन्द गरेका छन् ।
अनिश्चितकालका लागि निजी विद्यालय बन्द गरेपछि अभिभावकहरु अन्योलमा परेका छन् भने विद्यार्थीहरु अध्ययनबाट वञ्चित भएको भन्दै उनीहरु पनि आन्दोलनमा उत्रेका छन् ।
निजी विद्यालयमा मोटो रकम तिरेर अध्ययन गराई रहेका अभिभावकहरु अहिले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु भन्दा तल्लोस्तरमा झरेर आफैले खोलेको विद्यालय बन्द गरेर आफूहरुलाई ठगिरहेको अनुभुति भएको आरोपसमेत लगाउन थालेका छन् ।
गुणस्तरीय शिक्षाका मोटो रकम तिरेर भए पनि निजी विद्यालयमा पढाइरहे पनि विद्यालय नै ठप्प गर्नु निन्दनीय रहेको अभिभावक राजिव कुमार झाले बताए । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र कक्षा १२ का विद्यार्थीलाई दिइरहेको छात्रवृत्तिको शुल्क फिर्ता गर्न र विद्यार्थीहरुसंग लिँदै आएको शुल्क बढी भएको भन्दै विद्यार्थी भर्ना शुल्क निर्धारण गरेपछि जनकपुरधामका निजी विद्यालयहरुका सञ्चालकहरुको छाता संगठन संयुक्त रुपमा अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।
हिसान, प्याबसन, एनप्याबसन र मधेश प्याबसनसमेत जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले निर्धारण गरेको शुल्कको विरोध गर्दै तत्काल फिर्ता लिनुपर्ने भन्दै आन्दोलनस्वरुप अनिश्चितकालका लागि विद्यालय नै बन्द गरेका छन् ।
विद्यालय बन्द गरेपछि अहिले निजी विद्यालयका सञ्चालकहरुको चौतर्फी आलोचना सुरु भएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी विद्यालयले अभिभावकहरुसंग मोटो रकम असुल्ने गरेको भन्दै आन्दोलन गरेपछि जनकपुरधाम उपमहानगरपालिकाले शुल्क निर्धारण गर्दै छात्रवृत्तिको नाममा विद्यार्थीहरुबाट लिएको रकम समेत फिर्ता गर्न निर्देशन दिएको थियो ।
तर निजी विद्यालय सञ्चालकहरुको संगठनले भने जनकपुरधाम उपमहानगरपालिकाले गरेको निर्णय नै फिर्ता लिनुपर्ने भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको प्याबसन जनकपुरधाम समितिका अध्यक्ष दीपक ठाकुरले निर्णय गरेको जानकारी दिए ।
जनकपुरधाम उपमहानगरले निजी विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।
निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, मधेश प्याब्सन तथा हिसानको संयुक्त बैठकबाट कक्षा ११ तथा कक्षा १२को विद्यार्थीहरुको छात्रवृत्ति सम्बन्धि समस्या समाधान वार्ताको माध्यमबाट खोज्ने निर्णय समेत गरेको छ । यसका साथै उपमहानगरलाई छात्रवृति सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नका लागि दबाब सिर्जन ागर्ने निर्णय समेत गरेको उनले बताए ।
विद्यालय संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा भएको सम्झौतामा सुधारको माग गर्दै पत्राचार गरे पनि बेवास्ता गरिएकाले आन्दोलित हुनु परेको उनले जिकिर गरे ।
केही दिनदेखि विद्यालय बन्द गरेर सञ्चालकहरु नै आन्दोलनमा उत्रिएपछि सोको विरोधमा नेवि संघले पनि आन्दोलन थालेका छन् । नेवि संघ धनुषाले जनकपुरधामको नगर प्रदर्शन गर्दै निजी विद्यालयका सञ्चालकहरुको विरोधमा चरणवद्ध आन्दोलन थालेका छन् ।

निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेवि संघबीच भएको सम्झौता विरुद्ध आन्दोलन थालेपछि आफूहरु पनि उनीहरुको भण्डाफोर गर्दै आन्दोलनमा उत्रिनु परेको नेविसंघ धनुषाका सभापति सुजीत यादवले जानकारी दिए ।
स्थानीय तहको सरकारले शिक्षा सम्बन्धी कार्यविधि नबनाएको अवस्थामा संघीय शिक्षा ऐनलाई टेकेर विद्यार्थीलाई शिक्षामा रहेको व्यवस्था अनुसार सुविधा दिनुपर्ने हुन्छ । तर यहाँ निजी विद्यालयहरुले मनोमानी ढंगले प्रति विद्यार्थीसंग न्यून्तम २५ हजारदेखि ६० हजार रुपैयाँसम्म भर्ना शुल्क लिइरहेकाले पाइए पछि आफूहरु आन्दोलित भएको नेविसंघ धनुषाका सभापति यादवले बताए ।
तत्काल पठनपाठन सञ्चालनका लागि नेवि संघ धनुषाले आग्रह गरेको छ । विद्यालय बन्द हुँदा अभिभावकहरु भने निजी विद्यालय सञ्चालकहरुले अध्ययन अध्यापन ठप्प गर्नु गलत रहेको बताउँछन् ।
विद्यार्थीहरुलाई निजी विद्यालयले अध्ययनका लागि वातारण र विद्यार्थीलाई दिनुपर्ने सेवा सुविधा भन्दा पनि लुट्ने नीति अख्तियार गरेको प्रस्टै देखिए पनि स्थानीय तहको सरकार, मधेश प्रदेश सरकार र संघीय सरकारसमेत मुकदर्शन हुनुपर्ने अवस्था आउनु विडम्बना नै रहेको अभिभावक विजयकुमार साहले बताए ।
नेपालमा संघीय शिक्षा ऐन नबन्दासम्म निजी विद्यालयले शिक्षालाई पनि व्यापारीकरण गरिसकेको छ ।
नाफामूलक संस्थाको रुपमा मौलाएको शिक्षाले भ्रष्टीकरणको रुपमा लिइसक्दा पनि शिक्षा प्रति राज्य गम्भीर नरहेको आरोप क्रान्तिकारी कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य शीतल कर्णले लगाए ।