
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले १० हजार भन्दाबढी छात्राहरुलाई आत्मरक्षा तालिम दिने भएको छ ।
महानगर अन्तर्गतका कक्षा ६ देखि १२ सम्मका १० हजारभन्दा सङ्ख्याका छात्राहरुलाई बुधबार तालिम दिने महानगरपालिकाले जनाएको छ ।
नगरप्रमुख राजेशमान सिंहका अनुसार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा सामुदायीक र निजी विद्यालय तथा कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहनेछ ।
एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा महानगरको नाम लेखाउने तयारी गरिएको उनको भनाइ छ ।
यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उनको आग्रह छ ।
वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।
आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको र छात्राहरुलाई ल्याउने लैजानेका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको जनाइएको छ ।
तालिममा भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित बनाउन उल्लेख्य रुपले महिला स्वयंसेवीहरु खटाइएको छ ।