काठमाण्डौँ । स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा एक जना पक्राउ परेका छन । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
सहकारीका तत्कालीन ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
उनका अनुसार, स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरुको खोजी भइरहेको छ, त्यसक्रममा लामा पक्राउ परेका हुन् । प्रहरीले यसअघि सहकारीकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको हो ।
सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए।
बागमती प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले पनि स्वर्णलक्ष्मी सहकारीबारे छानबिन गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्र पठाएको थियो ।
यद्यपि, अनुसन्धान अघि बढेको थिएन ।