वीरगन्ज । वीरगन्जमा सार्वजनिक यातायातका सञ्चालकहरुले बढी भाँडा असुल्न थालिएको रहस्य बाहिरिएको छ । छठ पर्व मनाएर कर्मथलो काठमाण्डौँ फर्किने यात्रुहरुसँग सञ्चालकहरुले बढी भाँडा लिने गरेको रहस्य बाहिरिएको हो ।
वीरगन्जबाट हेटौँडा–काठमाडौँ चल्ने सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साबिकको भन्दा दोब्बर भाडा लिन थालिएको जनाइएको छ ।
यद्यपी स्थानीय प्रशासन भने यसविषयबारे अनविज्ञ रहेको यात्रुहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार अहिले वीरगन्जका बस काउन्टरहरुमा टिकट पाउनसमेत मुस्किल छ ।
वीरगन्ज प्रतिमाचोक निवासी एक जनाले काठमाण्डौँ जाने सवारीहरुले मनोमानी ढंगले भाँडा लिन थालेको गुनासो गरे । उनी भन्छन्, ‘वीरगन्जबाट काठमाण्डौँ जाने बेला अरु समय अरुबेला ८५० रुपैँया भाँडा तिर्ने गरेको थिए । तर अहिले टिकटको एक हजार ५० देखि एघार सय सम्म पैसा मागे । यसरी सवारी सञ्चालकहरुले मनपरी भाडाँ असुल्न पाइन्छ ? खै त स्थानीय प्रशासनले अनुगमन गरेको ? यसरी त गरिब जनताहरु झनै मारमा पर्छन् । सवारी सञ्चालक तथा चालकहरुले यसरी मनमानी गर्न थालेपछि हुने त तिरेर जान्छन्, जसको हुँदैन त्यसले के गर्छ ? चाडपर्वको नाममा सवारी साधनमा लापरबाही गर्नुहुँदैन ।’
यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी जयमोद ठाकुरले समेत सवारी साधनहरुको मनोमानीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘अप्रेशन वीरगन्ज बसपार्क २ यात्रीको समस्या, बसपार्कमा रहेको ब्रोकरको केहि झलक एकै छिनमा भनेर राखेको थिए । धेरै जनाले प्रमाण के हो भनेर सोधी रहनुभएको थियो । म पूर्ण जिम्मेवारी सहित एक भिडियो फोटो राखेको छु । मेरो शुभेकच्छुक साथिहरु बिरोध गरौ, बिरोध गरौ गलतको होइन भन्ने सदैव एकले अर्कोलाइ चपाउने दाउ तल देखाउने कार्य भई रहन्छ ।’
यसबारे प्रतिक्रिया लिदाँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले बढी भाडा लिनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । उनका अनुसार सवारी साधनमा बढी भाँडा तिर्न परेको गुनासो आएपछि अनुगमन गरेको तर गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाही गर्न समस्या भइरहेको दाबी गरे ।
पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगन्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जनाए ।
बढी भाँडा लिने ३ जना पक्राउ :
पर्सा प्रहरीले यात्रुसंग बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लामो दूरीमा चल्ने सवारीसाधनले यात्रुसंग बढी भाँडा असुल्ने तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।
बसपार्कबाट चल्ने सवारीसाधनले बढी भाँडा असुलिरहेको जनगुनासोपछि पर्सा प्रहरीले ‘सर्च’ अभियान चलाएको थियो ।
सोही क्रममा वीरगन्जको बसपार्कबाट तीनजनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनका अनुसार जनगुनासो धेरै आएपछि सर्च अभियान चलाइएको हो ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान चलिरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।