
धनुषा । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहयात्री छन् । तर धनुषाको नगराईन नगरपालिकामा भने लामो समयदेखि नै यी दुवै पार्टीका जनप्रतिनिधिबीच मनमुटाव चल्दै आएको छ ।
जसको मारमा परेका छन्, त्यहाँका कर्मचारी । अर्थात् उनीहरुको विवाद साम्य नहुँदा पटकपटक नगराईन नगरपालिकामा उपमेयरदेखि शिक्षक, कर्मचारीदेखि सेवाग्राहीसमेत आन्दोलनमा उत्रिदैँ आएका ज्वलन्त उदाहरणहरु छन् ।
यसपटक पनि लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव बीच उत्पन्न विवादका कारण नगरसभा अन्योलमा छ । नगराईन नगरपालिकाको नगरसभा नहुँदा कर्मचारीको तलब निकासादेखि सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवाहरुबाट सेवाग्राहीहरु वञ्चित हुँदै आएका छन् ।
नगराईन नगरपालिकाका मेयर विनयकुमार यादवले एकातिर उपमेयरका कारण नगरपालिकाको काम कारबाही प्रभावित भएको आरोप लगाएका छन् । भने अर्कातर्फ उनको आरोप नकार्दै उपमेयर राधादेवी यादवले उल्टै मेयरमाथि आरोप लगाएकी छन् ।
असारभित्र स्थानीय तहको नगरसभा गरिसक्नुपर्ने प्रावधान रहे पनि मेयर र उपमेयरबीचको विवादका कारण पाँच महिनादेखि नगरसभा हुन सकेको छैन । नगरसभा नहुँदा पालिकाका शिक्षक र कर्मचारीहरुले पनि तलब भत्ता नपाएको भन्दै आन्दोलनमा छन् ।
यसैबीच नगराईन नगरपालिकाकी उपमेयर यादवले पत्रकार सम्मेलन आयोजना गर्दै कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा, सेवा तथा सुविधाहरु र शिक्षा र स्वास्थ्यतर्फका अत्यावश्यक बजेट खर्च लगायतका अत्यावश्यक सेवाहरु प्रवाह गर्नका लागि आफूहरुले पटकपटक मेयरसँग आग्रह गरेको बताइन् ।
माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने भन्दै उनले सेवाग्राहीहरुको सेवा सुविधा तथा शिक्षक कर्मचारीको तलब भत्ता तत्काल उपलब्ध गराउन आग्रह गरिन् । उनी भन्छिन्, ‘नगराईन नगरपालिकामा कार्यविधि संशोधनको विवादले गर्दा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी मेयर ज्यूले लिनुपर्छ ।’
गत वर्ष आन्दोलनको क्रममा भएको सम्झौतामा समेत आफूहरुलाई मेयर यादवले झुक्याउन सफल भएपनि आफै सो सम्झौता कार्यान्वयन गर्नबाट पछि हटेको बताउँदै उनले भनिन्, ‘मेयर ज्यूले आफूहरुसंग विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नबाट पछि हट्नुभयो, जसले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रियौँ ।’
उपमेयर यादवले नगराईन नगरपालिकाको कामकाज ठप्प हुनुको कारण मेयर नै रहेको दाबी गर्दै यस नगरपालिकाको काम कारबाहीलाई जोडेर नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम जोड्नु गलत रहेको बताइन् ।
आफ्नो पालिका आफैले बनाउने भएपछि सांसदसमेत रहेकी नेतृ महतो र नेता निधिको नाम जोडेर आन्दोलनलाई कमजोर नगर्न आग्रह गरिन् । उनले मेयरसंग विगतमा कार्यविधि संशोधन गरी बजेट संचालनसम्बन्धी अधिकार उपमेयरमा पनि निहित रहने भनि भएको सम्झौताको आधारमा कार्यविधि संशोधन नहुँदा पाँच महिनादेखि हामी आन्दोलनमा रहेको बताइन् ।
नगराईन नगरपालिकाका कार्यकारी सदस्य रामदुलार मुखियाले भने, ‘बजेट सचालनसम्बन्धी अधिकार मेयर र उपमेयरलाई समेत रहने गरी कार्यविधिमा संशोधन गर्दै मेयर ‘वा’ उपमेयर हुनुपर्नेमा मेयर पक्षले मेयर ‘र’ उपमेयर भनि लेखेर हामीलाई झुक्याए पनि अन्तिमसमयमा आफूहरुले सो सम्झौता मान्दै कार्यान्वयनका लागि पालिकाको विधायन समितिमा पनि सो कार्यविधि संशोधन गरिए पनि मेयरले संशोधनसहितको कार्यविधिमा हस्ताक्षर नगरी आलटाल गरे पछि हामीले बाध्य भएर आन्दोलनमा उत्रिुन परेको हो ।’
उनले अन्तिम समयमा मेयर यादवले नै संशोधनका लागि रोक लगाएर हामीलाई झुक्याउँदै खेलाउन खोजेपछि बाध्यतावश आन्दोलित भएको बताए ।
त्यस्तै नगराईन–८ का वडाध्यक्ष सञ्जय राउतले मेयरसंग भएको उपमेयरलाई आर्थिक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन सम्बन्धी सम्झौता कार्यान्वयन नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
वडाअध्यक्ष राउतले नगराईन नगरपालिकालाई कुनै पनि अवस्थामा भ्रष्टाचारको अखाडा बन्न नदिने दाबी गरे ।
उनले मेयर यादवले निमित्त प्रशासकीय अधिकृतसंगको मिलेमतोमा अपारदर्शी ढंगले पालिकाको विकास निर्माणलगायतका बजेटमा अनियमितता गरेको आरोप लगाउँदै पारदर्शी गर्न माग समेत गरे । विकास निर्माणलगायतका बजेटमा मेयरले केही कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको दाबी गर्दै ससर्त अनुदान बाहेक विकास निर्माणका कामकाज समस्या सामाधान नहुञ्जेलसम्म बन्द रहने बताए । तर मेयर विनय कुमार यादवले भने एमाले र एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिको असहयोगका कारण नगरसभा विथोलिँदै आएको बताए ।
उनले भने, ‘असार १० मा नगरसभा गर्नेमा एमाले, कांग्रेस, लोसपा नेपाल लगायतका सबै दल सहमत थिए, हामी नगर सभाका लागि समयमै पुगेका थियौँ, उनले अघि थप्दै भने ‘नगरसभा गर्ने उहाँहरु सहमति त गर्नुभयो, तर बिना कारण उपस्थित नै हुनुभएन । जसकारण उहाँहरुको मानसिकता घाम जस्तै छर्लङ छ । त्यो बेलादेखि नै यो शिलशिला अहिलेसम्म जारी छ ।’
एमालेका उच्च तहका नेताहरुको इसारामा एमालेका साथीहरु नगरसभा हुन दिने पक्षमा रहेको मेयर यादवको भनाइ छ ।
नगराईन नगरपालिका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहगाउँ हो भने सो क्षेत्रबाट एमाले नेतृसमेत रहेकी सांसद जुलीकुमारी महतो छिन् ।
स्मरणीय रहोस्, विगतमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ९ महिनासम्म आन्दोलन गरेपछि कर्मचारी र शिक्षक तलबभत्तालगायतका सेवा सुविधाका लागि, ज्येष्ठ नागरिकलगायतकाले सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधाका लागि र विद्यार्थीले अध्ययनका लागि आन्दोलन गर्नुपरेको थियो ।
नगराईन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालका १ जना जनप्रतिनिधि छन् । मेयर यादव कांग्रेसबाट निर्वाचित छन् भने एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छिन् ।