नगराईन विवादः अगुवा समूहले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन, ७ दिनभित्र समस्या समाधान नभए आन्दोलनको चेतावनी

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकाका अगुवा समूहले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नगराईन नगरपालिकाका अगुवा समूहले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन । मेयर र उपमेयरको आन्तरिक विवादका कारण सम्पूर्ण कामकाज ठप्प भएको जनाउँ गर्दै नगराईनका अगुवा समूहले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडयामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगराईन नगरपालिकाको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । समूहका संयोजक आदर्श मण्डल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै एक साताभित्रमा समस्या समाधान गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा सात दिनभित्र समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

ज्ञापनपत्रमा लेखिएको छ–पाँच महिनादेखि नगराईन नगरपालकिामा मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवबीचको विवादका कारण पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले अध्यापन नै गराउन छाडेका छन्, करिब १ महिनादेखि विद्यालय र स्वास्थ्य चौकी पूर्णरूपमा ठप्प हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

‘यसले गर्दा विद्यार्थी र शिक्षामा ठूलो असर परेको छ, नागरिकले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । त्यसकारण समस्या समाधानका लागि प्रधानमन्त्रीज्यूले पहल गरदिनिका लागि आग्रह गरेका छौं,’ अगुवा समूहका संयोजक मण्डलले भने ।

मेयर र उपमेयरको तर्फबाट सम्बन्धित समस्या समाधानका लागि कुनै ठोस कदम नचालिएको भन्दै एक साताभित्र नगरपालिकाको काम कारबाही सञ्चालनमा ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै