
जनकपुरधाम । छठ पर्वका लागि करोडौं रुपैयाँ बराबरको केरा आयात भएको छ । छिमेकी मुलुक भारतबाट जनकपुरधाममा पाँच करोड रुपैयाँभन्दा बढीको केरा आयात भएको जनाइएको छ ।
तराइँको ठूलो महान छठ पर्वमा मुलुक भित्रैबाट ल्याइएको केराले अपुग हुँदा व्यवसायीहरुलाई बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ ।
जनकपुरधाम फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वलाई मध्यनजर गर्दै ठूलो परिमाणमा भारतबाट केरा आयात गरिएको बताए ।
उनले छठ पर्वमा ब्रतालुले सिंगै केराको घरी नै सूर्य भगवानलाई अर्घका रूपमा चढाउने भएकोले केराको माग बढी हुने गरेको सुनाए ।
केराको माग उच्च हुने भएको हुँदा स्थानीय उत्पादनले धान्न सक्ने अवस्था नभएको हुँदा प्रत्येक वर्ष भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष यादवको भनाइ छ ।
उनका अनुसार अघिल्लो वर्ष करिब चार करोडभन्दा बढी रुपैयाँको केरा आयात गरिएको थियो । यसपाली भने पाँच करोड रुपैयाँभन्दा बढीको केरा अर्थात ८५ ट्रक केरा आयात गरिएको उनी बताउँछन् ।
खासगरी गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट ल्याइएको छ ।
मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको गुहावटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट केरा मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले बताए । यस वर्ष २० प्रतिशतले केराको मूल्यमा वृद्धि गरिएको उनले बताए
देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आयात गरिएको केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको फलफुल व्यवसायीहरु बताउँछन् ।