
जनकपुरधाम । धनुषाको नगराईन नगरपालिकामा अझै नगरसभा हुन सकेको छैन । नगराईन नगरपालिकामा मेयर र उपमेयरबिच चर्किएको आन्तरिक द्वन्द्वले नगरसभा हुन सकेको छैन ।
असारभित्र स्थानीय तहको नगरसभा गरिसक्नुपर्ने प्रावधान छ । तर मेयर र उपमेयरबीचको विवादका कारण करिब पाँच महिनादेखि नगरसभा हुन नसकेको हो ।
लामो समयदेखि नगरपालिकाको नगरसभा नहुँदा सेवा प्रवाहमा असरमा मात्रै परेको छैन, कर्मचारीहरुसमेत आन्दोलित भएका छन् ।
नगरसभा हुन नसक्दा नगराईन नगरपालिकामा विकास निर्माणका कामकाजदेखि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरुले समेत विगत पाँच महिनादेखि तलब पाएका छैनन् । यसरी चाडपर्वको बेला पनि तलब भत्तालगायतका सेवासुविधाबाट नपाउँदा करिब एक महिनादेखि कर्मचारीहरु आन्दोलनमा उत्रेको बताइन्छ ।
पालिकामा प्रमुख÷उपप्रमुखबिच चर्किएको विवादका कारण नगरसभा अनिश्चित बनेको मेयर विनयकुमार यादवको स्वीकारोक्ति छ ।
उनी भन्छन्, ‘पालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको दुइ तिहाइ बहुमत छ, यही आडमा उहाँहरुले मसंग बार्गेनिङ्ग गर्नुहुन्छ, जुन बेठीक हो । यो सब मलाई असफल बनाउने दाउ हो, उपमेयरको यही हतकन्डाका कारण नगरसभा हुन नसकेको हो ।’
उनका अनुसार पालिकामा विकास भयो भने त्यसको सबै श्रेय मेयरले पाउने उहाँहरुमा भ्रम छ । मूलतः यहीकारण नगरसभा बिथोलिदै गएको उनको बुझाइ छ ।
‘असार १० मा नगरसभा गर्नेमा एमाले, कांग्रेस, लोसपा नेपाल लगायतका सबै दल सहमत थिए, हामी नगर सभाका लागि समयमै पुगेका थियौँ, उनले अघि थप्दै भने ‘नगरसभा गर्ने उहाँहरु सहमति त गर्नुभयो, तर बिना कारण उपस्थित नै हुनुभएन । जसकारण उहाँहरुको मानसिकता घाम जस्तै छर्लङ भयो । त्यो बेलादेखि नै यो सिलसिला अहिलेसम्म जारी छ ।’
कारण–त्यसपछि पनि पटकपटक नगरसभाका लागि आग्रह गरिएको छ, तर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगरसभाका गर्ने सहमत नै हुँदैनन् ।
एमालेका उच्च तहका नेताहरुको इसारामा एमालेका साथीहरु नगरसभा हुन दिने पक्षमा रहेको मेयर यादवको बुझाइ छ ।त्यसकारण एमालेका उच्च तहका नेताहरुलाई समेत नगरसभालाई अवरोध नगरिदिन उनले आग्रहसमेत गरेका छन् ।
यता उपमेयर राधादेवी यादवले पनि आफूहरुको माग पूरा नगर्दा आफूहरुले नगरसभा बहिष्कार गरेको स्वीकारिन् । उनले नगरसभामा स्थानीय कार्यविधि संचालन सम्बन्धी ऐन नै संशोधन गरी ‘र’ शब्द हटाई ‘वा’ शब्द राखेर मेयर÷उपमेयरले नगरको विकास निर्माणको निर्णय लिन पाउनुपर्ने व्यवस्था कायम गर्नुपर्ने बताइन् ।
स्रोतको अनुसार नगराईन नगरसभामा प्रमुख अतिथिमा सांसद जुली कुमारी महतोलाई बनाउनुपर्ने एमालेको माग छ । तर मेयर यादवले आफ्नो अनुकुल गरेपछि नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बहिष्कार गर्दै आएका छन् ।
नगराईन नगरपालिका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहगाउँ हो भने सो क्षेत्रबाट एमाले नेतृसमेत रहेकी सांसद जुली कुमारी महतो छिन् । जसले गर्दा नगराइन नगरपालिकामा कांग्रेस र एमालेको टकराव भइरहन्छ । तर
अहिले केन्द्रीय सत्ता समीकरणमा समेत कांग्रेस–एमाले एकैठाउँमा रहँदासमेत दुवै पार्टीदेखि जनप्रतिनिधिसम्ममा मनमुटाव कायमै रहँदा नगराईन नगरपालिकामा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
नगराइन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालबाट १ जना जनप्रतिनिधि छन् । मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित छन् भने नेकपा एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छन् ।