बारा । आगामी मंसिरमा लाग्ने गढीमाई मेलाका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
श्री गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मुल समितीको शुक्रबार बसेको बैठकले उपसमितिहरु गठन गरेको हो ।
बैठकबाट ९ वटा उपसमितिहरूका संयोजक, पदाधिकारी र सदस्यहरूको नामावली सार्वजनिक गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार रेशम तिवारीको संयोजकत्वमा प्रचारप्रसार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी जतिकर हुसेन चुरिहारको संयोजकत्वमा जग्गा व्यवस्थापन, विश्वनाथ प्रसाद कुशवाहाको संयोजकत्वमा खानेपानी व्यवस्थापन उपसमिति गठन भएको छ ।
यस्तै गजेन्द्र जैसवालको संयोजकत्वमा मनोरञ्जन व्यवस्थापन, चन्दन कुमार साहको टेन्ट व्यवस्थापन, प्रभु प्रसाद विद्युत व्यवस्थापन, उपेन्द्र प्रसाद जैसवाल पार्किङ व्यवस्थापन, प्रम प्रसाद साह बली व्यवस्थापन र राम जनम प्रसाद यादवको संयोजकत्वमा विपत व्यवस्थापन उपसमिति गठन गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।