ट्रेन्डिङ

मधेशमा डेंगु संक्रमितको सङख्या घट्दो, कुन जिल्लाको अवस्था कस्तो ?

धनुषा । मधेश प्रदेशमा डेंगु संक्रमणको अवस्था सामान्य रहेको छ । देशैभर डेंगु संक्रमणको अवस्था भयावह रहेको बेला मधेश प्रदेशमा समेत डेंगु संक्रमित फेला परे पनि अवस्था भने नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रदेशको अन्य जिल्लाभन्दा बढी बारा र पर्सामा डेंगु संक्रमण रहेको देखिए पनि अवस्था नियन्त्रणमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. राजीव झाले मधेश प्रदेशको विभिन्न जिल्लामा केही मात्रामा डेंगु संक्रमित फेला परे पनि सुरुदेखि नै आफूहरु सचेत रहेको बताए । बारा र पर्सामा बढी यो रोगको संक्रमित देखिए पनि यसको नियन्त्रण पनि भइरहेको उनको भनाइ छ ।

डेंगुले प्रकोपको रूप लिइनसकेको तर लामखुट्टेको वृद्धि हुने ठाउँ रहेका कुनै पनि जिल्ला वा टोलमा कुनै पनि बेला प्रकोपको रूप लिने जोखिम भएकाले लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई जारी राख्नुपर्ने डा. झाको सुझाव छ ।

यस्तो छ जिल्लागत विवरण :

प्रदेशका ८ वटै जिल्लाहरुमा डेंगु संक्रमित देखिएका मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

यद्यपी प्रदेशको जिल्लागत तथा मासिकरुपमा अक्टुबर महिनाको २९ तारिखसम्मको अवधिमा सबैभन्दा बढी संक्रमित बारा जिल्लामा देखिएका छन् । अर्थात् त्यो जिल्लामा मात्र यस अवधिमा २८ जना संक्रमित फेला परेका निर्देशनालयको रेकर्ड छ ।

यसपछिको सूचिमा पर्सामा छ । यहाँ १८ जना डेंगु संक्रमित भेटिएका छन् । यसैगरी सर्लाहीमा १५, रौतहटमा १४, धनुषामा १२, सिरहामा ११, महोत्तरी र सप्तरीमा ८/८ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

अक्टुबर महिनामा मधेश प्रदेशमा कूल ११४ जना डेंगु संक्रमित रहेका छन् भने सेप्टेम्बर महिनामा २०५ जना संक्रमित फेला परेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै