छठ पूजाका लागि वीरगन्जका घाटहरु तयार परिँदै (तस्विरसहित)

वीरगन्ज । तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ । यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो ।

यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ । छठ पर्व आउन एक साताभन्दा बढी समय बाँकी रहँदा वीरगन्जका जलाशय किनार सरसफाइ गरी धमाधम छठ घाट निर्माणको काम भइरहेको स्थानीयले बताएका छन् ।

छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा महानगरपालिकाको कार्यालयले रकम दिएर छठ घाट निर्माणको काम अगाडि बढाएको छ ।

प्रायः ठाउँमा छठ घाटमा बाँसको खट बाँध्ने, बत्ती जडान गर्ने, टेन्ट राख्नेलगायत कामका लागि वडा कार्यालयले सहयोग गर्ने गरेका छन् । छठ घाट आसपास सरसफाइ गर्ने कामका लागि मजदुर खटाइएको छ ।

अधिकांश स्थानमा दीपावलीअघि नै छठ घाट तयार पार्ने गरी तयारी भइरहेको स्थानीयले बताएका छन् ।

छठपर्वमा व्रतालुले छठको मुख्य दिन सँझिया घाट अर्थात् छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने प्रचलन रहेको छ । व्रतालुहरू अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन् ।

यसैबिच पर्वका लागि ग्रामीण महिला घर लिपपोत र सरसफाइमा व्यस्त हुन थालेका छुन् । महिलाहरू घरआँगन सरसफाइदेखि पर्वका लागि आवश्यक सरसामग्री जुटाउने क्रम सुरु भएको छ ।

वीरगन्जसहित ग्रामीण नाकाका मुख्य बजारमा दीपावली र छठमा प्रयोग हुने सरसामग्रीको किनबेच बढ्न थालेको छ । तुलनात्मक रूपमा सस्तो पर्ने भन्दै सीमावर्ती क्षेत्रका बासिन्दा दीपावली र छठमा प्रयोग हुने सरसामग्री किन्न सीमापारि भारतीय बजारसम्म पुग्न थालेका छन् ।

जिल्लाका डोम समुदायलाई छठमा प्रयोग हुने बाँसका सामग्री बनाउने चटारो छ ।

छठ पूजाका लागी वीरगन्जका घाटहरु बनाइदैँ :

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै