सप्तरी । सप्तरीको हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । चाडपर्वको मुखमा समेत तलबभत्ता नपाउँदा शिक्षहरुक आइतबारदेखि आन्दोलनमा उत्रिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो ।
विद्यालयमा पठनपाठन नै ठप्प पार्दै शिक्षकहरु आन्दोलनका कार्यक्रम अघि सार्दा ७ हजार ८७३ जना विद्यार्थीहरु मर्कामा परेका छन् ।
नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले तीन महिनादेखि काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित बनेका छन् ।
उनीहरुले तीन महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ । उक्त आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
सङ्घर्ष समितिका संयोजक अशोक कुमार यादवका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दसैँ जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुने उनको भनाइ थियो ।
यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख विरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो ।
नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताउनुभयो । उहाँले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको आश्वासन दिए ।
नगरसभा बैठन बस्न नसक्दा चालु आवदेखि शिक्षक, स्वास्थ्यकर्मीलगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाले समाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् ।